१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा भरतपुरमा कोरोना रोकथाम समिति गठन

३० फागुन, चितवन । भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो ।

महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो । बैठकले महानगरका सबै वडामा वडास्तरीय समन्वय समिति गठनका लागि अनुरोध गर्नुका साथै सूचनामूलक क्रियाकलाप गर्न गराउन आग्रहसमेत गरेको छ ।

बैठकमा सहभागी स्वास्थ्य शाखा सहसंयोजक सूर्य तिवारीका अनुसार कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी चिकित्सकीय टाक्स फोर्स गठन गर्ने निर्णयसमेत गरिएको छ । यस्तै महानगरपालिकाभित्र रहेका सरकारी तथा निजी अस्पतालमा आइसोलेसन वाड(छुट्टै कक्ष) तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको तिवारीले जानकारी दिनुभयो ।

बैठकमा जिल्लामा सङ्क्रमणको खतरा र यहाँ अपनाइएका सावधानीका बारेमा महानगरका स्वास्थ्य विज्ञ डा भोजराज अधिकारी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य, चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल, निजी अस्पताल समन्वय समिति (अफिम)का नारायण सिंह कुँवर, विक्रम अधिकारी लगायतले बोल्नुभएको थियो । सो बैठकले भरतपुर विमानस्थलमा रहेको स्वास्थ्य परीक्षण कक्षालाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : March 13, 2020 at 2:00 pm