९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बलात्कारकाे अभियोगमा प्रदेश सांसद रावल पक्राउ

२१ फागुन, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश सांसदमाथि बलात्कारको अभियोग लागेको छ । जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद अक्कल रावल प्रहरीको हिरासतमा पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कैलालीका प्रवक्ता दक्षकुमार बस्‍नेतका अनुसार सांसद रावलविरुद्ध गत फागुन १४ गते एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन्।

महिलाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कैलालीबाट पक्राउ पूर्जी जारी गराएको थियो। अछामका रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

तिनै महिलाको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि रावल बुधबार प्रहरी कार्यालयमा उपस्थित भएका थिए। रावललाई बुधबारै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बस्‍नेतले जानकारी दिए।

“उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियोु, बस्‍नेतले भने, हामीले भोलि अदालबाट म्याद थप गरेर कारवाही अघि बढाउँछौं।”तर रावलले भने आफूमाथि लागेको आरोप निराधार रहेको तर्क गर्दै आएका छन्। एक प्रहरी अधिकारीका अनुसार रावलले आफूमाथि लागेको बलात्कार अभियोगलाई अस्वीकार गरेका छन्।

प्रकाशित मिति : March 4, 2020 at 10:48 am