९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चासो नदिँदा सम्पदा पुनःनिर्माणले गति लिन सकेन

–देवराज सुवेदी

२६ फागुन, मेलम्ची । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, स्थानीय तहलगायत सम्बन्धित निकायले चासो नदिँदा गुम्बा तथा मन्दिर अलपत्र परेका छन् । भूकम्पले ढालेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा सरकारी बेवास्ता हुँदा गुम्बा तथा मठमन्दिर निर्माणले गति लिन सकेको छैन । बजेट अभावमा निर्माण हुन नसकेका कारण जिल्लाका अधिकांश मन्दिर तथा गुम्बा अझै टहरामै छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का अनुसार २०७२ को विनाशकारी भूकम्पले जिल्लामा रहेका १९० गुम्बामा क्षति पुगेको थियो । तीमध्ये चालू आर्थिक वर्षमा पुनःनिर्माण प्राधिकरणले २८ गुम्बा मर्मतका लागि अख्तियारी पठाएको छ ।

अघिल्लो वर्ष रु साढे सात करोड ढिला आएकाले फिर्ता गएको हो । “यो वर्ष समयमै आएकाले काम शुरु भइसकेको छ,” उहाँ भन्नुहुन्छ, “१० वटाका लागि सम्झौता भइसक्यो, अरु प्रक्रियामा छन् ।” उहाँले स्थानीयस्तरमा उपभोक्ता समिति गठन गरेर प्रक्रिया अगाडि बढाइँदै गरेको जानकारी दिनुभयो । असारसम्म अख्तियारी आएका गुम्बाको मर्मत भइसक्ने उहाँको भनाइ छ ।

गुम्बाको क्षति अनुसार प्राविधिक अनुमान गरेर वर्गीकरण छुट्याइएको छ । भूकम्पबाट प्रभावित गुम्बा, विहार, स्तुपाको संरक्षण जीर्णाेद्वार तथा पुनःनिर्माण सम्बन्धी कार्यविधि २०७५ले एकदेखि पाँचसम्मको वर्गीकरण गरेको छ । कार्यविधिले संरचना रहेको वरिपरिका क्षेत्र जसको मर्मत नगरे सम्पदामा जोखिम रहने संरचना ग्रेड एकमा राखेको छ । त्यस्तै सामान्य मर्मत गरी प्रयोगमा ल्याउन सकिनेलाई ग्रेड दुईमा, मर्मत पश्चात मात्रै पुनःप्रयोगमा ल्याउन सकिनेलाई ग्रेड तीनमा राखिएको छ । सम्पदा क्षति भएको, प्रयोग गर्न नमिल्ने तथा भत्काएर पुनःनिर्माण गर्नुपर्ने ग्रेड चारमा र पूर्ण क्षति भई भग्नावशेष मात्र बाँकी रहेको अवस्थामा पुनःनिर्माण गर्नुपर्ने संरचना ग्रेड पाँचमा पर्दछन् ।

अहिले मर्मतका लागि जिमालीले एक, दुई र तीन ग्रेडका गुम्बा छनोट गरेको छ । ती गुम्बालाई क्षति र आवश्यकता हेरी रु तीन लाख देखि रु २५ लाखसम्म छुट्याइएको जिमालीका व्यवस्थापक सेठ बताउनुहुन्छ । कूल रु चार करोड तेइस लाख बजेटमध्ये मर्मतका लागि पाँचपोखरी थाङपाल गाउँपालिकास्थित बरुवामा रहेको स्याङ्बा ङयुडने गुम्बाका लागि सबैभन्दा कम रु तीन लाख छुट्याइएको छ । “यो सहित स्थानीयवासीले २० प्रतिशत श्रमदान गुर्नहुन्छ”, सेठले भन्नुभयो, “हामीले रङ्गरोगन, घेराबार, झ्यालढोका, चुहिने छाना, पर्खाल, शौचालय आदि हेर्छाैं ।” उहाँले आगामी वर्षमा थप गुम्बा निर्माण तथा मर्मत गरिने बताउनुभयो ।

प्रकाशित मिति : March 9, 2020 at 12:29 pm