९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बिचाैलिया र घुसबिनै अब नाप नक्साको काम, कामको जानकारी मोबाइल एपबाटै लिन पाइने

२४ फागुन, कास्की । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गर्नुभएको हो ।

नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशभर लागु गरिने बताउनुभयो । मालपोतमा सेवा शुरु भइसकेको भन्दै उहाँले अब देशभर लागु गरिने बताउनुभयो ।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । सेवामा प्रविधिको प्रयोगको रिजल्ट विस्तारै आउदै गरेको भन्दै उहाँले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो भएको बताउनुभयो ।

हिजोको शैलीले काम नहुने भन्दै मन्त्री अर्यालले हुने काममा ढिलासुस्ती पाच्य नहुने बताउनुभयो । ऐनकानुनले दिने काममा नलाग्न कर्मचारीलाई आग्रह गर्नुभयो । ‘अनुचित कुरामा दबाब दिइदैन । ऐनकानुनले नदिने कुरामा नलाग्नुस’, मन्त्री अर्यालले भन्नुभयो’, ‘जनताको सुबिधा हुने कुरामा तपाईहरुले छिटो गरिदिनुस । हुने काम ढिलो नगरिदिनुस । व्यक्तिगत इन्ट्रेष्ट नराख्नुस ।’

कास्कीले तयार गरेको मोबाइल एप विस्तार गरेर देशैभर पुर्याइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिनुभयो । प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै महानिर्देशक जोशीले कार्यालयको छबी पनि सुधार गर्ने कार्यमा लागेको बताउनुभयो । नापी कार्यालय कास्कीका कार्यालय प्रमुख-प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा “नापी पोखरा, SOKP” मोबाईल एपप तयार गरिएको जानकारी दिनुभयो ।

नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपपमार्फत लिन सकिनेछ । एपपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना/जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ ।

नेपालको जग्गाप्रसासनको क्षेत्रमा यसप्रकारको मोबाईल एप, पहिलो पटक कास्कीबाट सुरु गरिएको हो। मालपोत, नापी जस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा विचौलियाको सहयोग विनानै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिनको लागी पहिलो पटक यसप्रकारको Interactive Mobile Application को सुरुवात गरिएको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो । मन्त्रीको सचिवालयबाट प्राप्त समाचार

प्रकाशित मिति : March 7, 2020 at 4:13 pm