३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मन्त्री अर्यालद्धारा विशेष नापी अभियानकाे शुभारम्भ, जनताको सम्पत्तिकाे सुरक्षा गर्ने घाेषणा

२३ फागुन, स्याङ्जा। स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्‍घाटन गर्नुभएको हो । विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याङ्जामा नापनक्साका समस्या छन् । यो विशेष नापीले हिजोको नापनक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताउनुभयो । ‘पुनः नापनक्सा हामीले ल्यायौं । जो हिजो नापनक्सा गर्दा छुट्नुभएको छ । उहाँहरुले राहत पाउनुहुनेछ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् ।

यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं ।’यो नापनक्सा डिजिटल प्रविधिको नापनक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताउनुभयो । अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन् हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको शुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि शुरु गर्ने योजनामा रहेको बताउनुभयो ।

धेरै उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गाजमिनको नापनक्सा गर्ने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी समस्या नहुने बताउनुभयो । अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त हुने मन्त्री अर्यालले बताउनुभयो । मन्त्रालयअन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडी बढेको उहाँले बताउनुभयो । ‘हामी सुशासनको संकल्पका साथ सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर अगाडी बढेका छौ ।

प्रविधिको प्रयोग गर्दा केही समस्या आए तर अब त्यस्तो हुदैन । कर्मचारीको पनि स्किल बढ्न थालेको छ र सर्भर डाउन हुने समस्यालाई पनि समाधान हुदै गएको छ’, मन्त्री अर्यालले भन्नुभयो । सबै कार्यालयलाई डिजिटलाइज्ड गरेर जनताको सम्पत्ति संरक्षण गर्ने अभियानमा आफु रहेको भन्दै अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताको सम्पत्ति भूमि हो त्यो हाम्रो कार्यालयमा छ । हिजो के भयो बिर्सिदउ । अब यसको संरक्षण डिजिटल रुपमा गर्नुपर्छ । हामी त्यही अभियानमा लागेका छौ ।’

हिजो चुनावमा गरेका संकल्पहरु पुरा गर्नका निम्ती संघको सरकार लागिरहेको भन्दै मन्त्री अर्यालले उद्योगग्राम, अस्पताल जस्ता पुर्वाधारहरु विकास गर्नका निम्ती प्रकृया अगाडी बढिसकेको बताउनुभयो । जिल्लाको विकासका निम्ती समन्वयात्मक रुपमा शुरु गरेको भन्दै मन्त्री अर्यालले यसमा कसले के गर्‍यो वा गरेन भनेर कित्ताकाट गर्न जरुरी नभएको बताउनुभयो । ‘हामी सल्लाह गरेरै काम गर्न लागेका छौ ।

हाम्रो ठाउँको विकास गर्न लागेका छौ । कामको थालनी गरेका छौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘काम हुन्छन् । पैसाको कारण भएन भन्ने कुरा छैन । नगरौं भन्ने हुदैन । गर्दागर्दै कति काम गर्न सकिन्छ भन्ने कुरा हो ।’मन्त्रालयका सचिव केदार न्यौपानेले स्याङ्जा जिल्लाबाट नेपालका अरु जिल्लाहरुले सिक्ने बताउनुभयो । जिल्लाभर व्यवस्थित रुपले नापी सम्पन्न गर्न राजनीतिक अगुवा तथा जनप्रतिनिधिहरुले सहजिकरण गर्नुपर्ने बताउनुभयो ।

टोटल स्टेशन (टिएस) मेशिनमार्फत अब स्याङ्जामा पुनः नापनक्सा कार्य हुनेछ । मेसिनको प्रयोगमार्फत जग्गाको डिटेलको कोअर्डिनेट तत्कालै दिनसकिने बताइएको छ । यसले करिब ५ देखि ८ किलोमिटर दुरिसम्मको रिडिङ गर्न सक्‍ने विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले जानकारी दिनुभयो । १२० जना पुरा दरबन्दी पुरा भएमा ५/६ वर्षको अवधिमा जिल्लाभरको नापनक्सा सम्पन्न गरिसक्‍ने नापी अधिकृत गौतमले जानकारी दिनुभयो ।

विशेष नापी सम्पर्क कार्यालय वालिङ स्याङ्जाका टोली प्रमुख सुविन्द्र श्रेष्ठको नेतृत्वमा स्याङ्जा जिल्लाभरको जग्गाको नापनक्सा हुनेछ । यसको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ । भवनको बारेमा जानकारी दिँदै नापी कार्यालय वालिङका कार्यालय प्रमुख विवेक तिवारीले एक रोपणी चार आना जग्गामा आठ कोठाको पक्की भवन निर्माण गरिएको जानकारी दिनुभयो । कार्यालयमा सेवाग्राहीका लागि अपांगमैत्री शौचालय, प्रतिक्षालय, सबै सेवाग्राहीले बाहिरबाट पनि देख्‍नसक्‍ने कार्यालयका कक्षकहरु लगायतको व्यवस्था गरिएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 6, 2020 at 5:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/