रामपुर नगरपालिकामा गौमाता सहयोगार्थ महायज्ञ, करिब डेढ करोडको दान सङ्कलन
२२ फागुन, रामपुर । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गाई संरक्षणका लागि निर्माण भएको गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी एक करोड ४७ लाख ४७ हजार रु ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ ।

यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मङ्गलबार मात्रै रु ३१ लाख ९१ हजार ८२७ सङ्कलन भएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । उहाँले यज्ञ सफल बनाउन निरन्तर खट्ने व्यक्तित्वलाई धन्यवाद दिनुभएको छ । गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थका लागि भएको यस महायज्ञ रामपुरमा हुने अन्य महायज्ञभन्दा फरक शैलीमा भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।
गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थका लागि आयोजना गरिएकाले पनि भक्तजनको उत्साहजनक उपस्थिति राम्रो रहेको उहाँको भनाइ थियो ।यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपानेबाट झाँकीसहित सङ्गीतमय शैलीमा कथावाचन भएको थियो । रामपुर नगरपालिकाको संरक्षणमा वडा नं ६ को धार्मिक क्षेत्र नवनिर्मित गौशाला परिसरमा महायज्ञ आयोजना गरिएको हो ।
छाडा छाडिएका गाई व्यवस्थापन गर्न र समाजमा गाईलाई अपहेलना गर्ने क्रम बढेकाले गौमाताको संरक्षणका लागि नगरपालिकाले गत वर्षदेखि रकम विनियोजन गरी गौशाला निर्माण गरी गाईको व्यवस्थापन गरेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । छाडा छाडिएकाले गाईले कृषकको खेतबारीमा पसेर अन्नबाली खाइदिएर सखापै पारेको थियो ।
कृषकले नगरपालिकामा पटकपटक समस्याको समाधानका लागि पहल गरेपछि वडा नं ६ को कार्यालय परिसरमा गत साउनयता अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो । गौशालाको संरचना तयार भएपछि फागुनको पहिलो हप्तादेखि गौशाला परिसरमा गाई बाँध्न थालिएको छ ।
प्रकाशित मिति : March 5, 2020 at 12:06 pm









