९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

आफू र आफ्ना नातेदारलाई मानपदवी सिफारिस गर्न नमिल्ने, सगरमाथा र गाैतम बुद्ध पदक थपिए

२२ फागुन, काठमाडाैँ । आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ । नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सरोकारवालाको छलफलका लागि सार्वजनिक गरेको गोरखापत्र दैनिकमा नारायण काफ्लेले समाचार लेखेका छन ।

विधेयक तर्जुमापछि आयोगले विभागीय मन्त्रालयलाई हस्तान्तरण गर्ने छ । प्रस्तावित मस्यौदाले सिफारिस समितिमा रहेका व्यक्तिबाटै आफू र नातेदारलाई समेत मानपदवी सिफारिस गर्न नमिल्ने व्यवस्था प्रस्ताव गरेको छ । प्रचलित कानुनले परिभाषित गरेका नातेदारलाई मानपदवी सिफारिस गर्न नपाउने व्यवस्था मस्यौदामा उल्लेख छ । सिफारिस समितिमा रहेका सदस्यहरूले स्वार्थ भएका व्यक्तिलाई मानपदवी सिफारिस नगरिएको स्वघोषणासमेत गर्नुपर्ने छ ।

यसअघि चार प्रकारका विभूषण रहेकामा दुई प्रकारका विभूषण थप्न प्रस्ताव गरिएको छ । सगरमाथा सम्मान विभूषण र गौतम बुद्ध पदक थप गर्न प्रस्ताव गरिएको छ । यसअघि नेपाल रत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री कायम थिए । मर्यादाक्रममा पनि हेरफेरको प्रस्ताव छ । नेपाल रत्नपछि सगरमाथा सम्मान विभूषणलाई दोस्रो मर्यादाक्रममा राखिएको छ । यसअघि दोस्रो क्रममा रहेको राष्ट्र गौरवलाई तेस्रो स्थानमा राखिएको छ । थप गरिएको गौतम बुद्ध पदकलाई छैटौँ स्थानको अन्तिममा राखिएको छ । विधेयकले सबै मानपदवीको व्याख्या पनि गरेको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : March 5, 2020 at 7:29 am