प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियूको दीप प्रज्वलन (फोटोफिचर)
२० फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज साँझ माइतीघरमा दीप प्रज्ववलन गरेको छ । प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहाँको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गाैला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । उहाँका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उहाँ विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ । दोस्रो मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।
अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वस्थ्यस्थितिबारे जानकारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिितिबारे जानकारी लिनुभएको छ । आज साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको हो । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

प्रकाशित मिति : March 3, 2020 at 10:46 pm









