३२ तोला सुन लुटेर भागेका नेकपा नुवाकोटका राजु थापा पक्राउ, ६ वर्षका लागि कारागार चलान
२० फागुन, काठमाडाैँ । ५३ सालमा ३२ तोला सुन लुटेर भागेका नेकपा नुवाकोटका ४६ वर्षीय राजु थापा पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा फरार रहेका प्रतिवादी थापालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-६ का ४६ वर्षीय राजु थापा रहेका छन् । थापालाइ सर्वोच्च अदालतले डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो ।

ब्यूरोको टोलीले काठमाडौंको मित्रनगरबाट थापालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतले उनलाई डील्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ । थापाले काठमाडौंको भिमसेनगोलाबाट २०५३ साल माघ १० गते राति ३२ तोला सुन लुटेर फरार भएका थिए । थापा गत स्थानीय निर्वाचनमा तत्कालनी एमाले (हालको नेकपा)बाट वडा सदस्यमा सबैभन्दा बढी लोकप्रिय मत ल्याएर विजयी भएका थिए ।

प्रकाशित मिति : March 3, 2020 at 7:56 pm









