कोरोनाबाट जोगिन अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सर्वोच्चकाे आदेश (आदेशकाे पुर्णपाठ)
१९ फागुन, काठमाडाैँ । कोभिड-१९ (कोरोना भाइरस) बाट जोगिनका लागि आवश्यक परेमा त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेकाे छ । सोमबार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्तो आदेश दिएको हो। सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई आदेश दिएकाे हाे ।

सर्वोच्चको आदेशमा भनिएको छ,’कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने महामारी जस्तो विपद् जोखिमको न्यूनीकरणका निम्ति विपद्पूर्वको जोखिमको विश्लेषण, विपद् रोकथाम र क्षतिको न्यूनीकरणका लागि पूर्वतयारीका कामहरु गरिनसकेको भए तत्काल गरी र गर्न लगाइ संक्रमण फैलिए विपद् प्रतिकार्य र व्यवस्थापन कार्यहरु प्रभावकारी बनाउनु ।’
सर्वोच्चको आदेशमा भनिएको छ, ‘देशको उत्तर र अन्य सीमाबाट तथा त्रिभुवन विमानस्थलबाट प्रवेश गर्नेहरुमाथि दक्ष जनशक्ति खटाइ कडा निगरानी गर्नू, आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडामा रोक लगाउनु।’
सर्वोच्चले पाँचवटा देशको नाम नै लिएर ती देशबाट नेपाल आउने नागरिकहरुमाथि कडा स्वास्थ्य निगरानी गर्न पनि भनेको छ। अधिवक्ता पूर्ण राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध हालेको रिटमा सर्वोच्चले यस्दो आदेश गरेको हो।



प्रकाशित मिति : March 2, 2020 at 5:19 pm









