राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित
१९ फागुन, काठमाडाैँ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनाको विस्तृत दस्तावेज पारित गरेको हाे ।
बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै गरिबीको रेखामुनी रहेकालाई शून्यमा झार्ने गरी योजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले रोजगारी सृजना नगरी गरिवी निवारण गर्न नसकिने भन्दै रोजगारी उपलब्ध हुने योजनाहरु कार्यान्वयनमा ल्याउनुपर्ने बताए । १५औं योजना आगामी ५ वर्षका लागि तयार पारिएको हो । गत जेठमा यसको आधारपत्र पारित भएको थियो ।
बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल १५औं योजनाका आधारपत्रमा थपिएका विषयका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी योजनाका बारेमा टिप्पणी गरेका थिए ।
१५ औं योजनामा ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोचसहितका कार्यक्रम समावेश गरिएको छ ।
प्रकाशित मिति : March 2, 2020 at 2:11 pm









