कोरोनाको नेपाल प्रभावः फागुन २४ देखि विदेशीलाई अनअराइभल भिसा नदिने सरकारको निर्णय
१८ फागुन, काठमाडाैँ । विश्वभर महामारीको रूप लिँदै गएको नोबेल कोरोना भाइरसको संक्रमण कारण सरकारले अर्काे सातादेखि अनअराइभल भिसामा रोक लगाउने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोनाको संक्रमण भित्रन नदिन फागुन २४ देखि विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दिँदै आएको अनअराइभल भिसा पनि रोक्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले नेपाल आउने हरेक विदेशी नागरिकले विमानस्थलमै आफ्नो स्वास्थ्य जाँचको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिलाई परीक्षण गरी कोरोना भाइरसको संक्रमण नभएको यकीन गरेर मात्रै पठाउने बताएका छन ।
चीनको वुहान शहरबाट शुरू भएर विश्वभरी उच्च जोखिम निम्त्याएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले पहल नगरेको भन्दै आलोचना भएको थियो। विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिम रहेको देशको सूचीमा राखेको थियो। यसैक्रममा १७ फागुनमा उपप्रधानमन्त्री पोखरेलको संयोजकत्वको रोकथाम समन्वय समिति बनाइएको थियो।
प्रकाशित मिति : March 1, 2020 at 11:07 pm









