प्रचण्ड र माधव नेपाललाई ओलीको जवाफः दूरगामी महत्वका काम गर्दा आत्मभत्सर्ना किन ?
१५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्र्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । पार्टीको बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारले नेपाल तीब्र आर्थिक विकास गर्ने दशवटा देश मध्ये परेको भन्दै प्रशंसा गरेका बेला देशभित्रै भने आत्मभत्र्सनाको प्रयास भएको वताउनु भयो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय यता अपेक्षा अनुसार काम हुन नसकेको भन्दै सरकारको घुमाउरो शैलीमा आलोचना गर्दै आउनु भएको छ । सोही कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले केही गर्न नसकेको भन्दै समिक्षा हुनुपर्ने बताउनु भएको थियो ।
‘सरकारले दूरगामी महत्वका धेरै काम गरेको छ, मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ, रेल सञ्चालनको तयारी भएको छ, सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने काम इतिहासमै तीब्र गतिमा भइरहेका छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसारका तीब्र आर्थिक बृद्धि गर्ने दशवटा देशमा नेपाल परेको भन्दै प्रशंसा भइरहेको छ । तर, यहाँ आफ्नै भित्र चाहिँ केही हुन सकेन भन्दै आत्मभत्र्सना गर्ने प्रबृत्ति बढेको छ ।’

प्रधानमन्त्री ओलीले अफवाह फैलाउनेको दुष्प्रभाव समाजमा परेको वताउनु भयो । तेह्रथुमको आफ्नो जन्मगाउँमा करिव ४ हजार घरधुरीलाई खानेपानी, बिजुली र बैंकिङ् सेवा सुविधाको सुरुवात गर्न जाँदा त्यसको कुनै चर्चा नभएको तर संयोगबश परेको आफ्नो जन्मदिनमा काटिएको केकबारे दुश्प्रचार गरिएको उहाँको भनाई थियो । ‘पुस्तौंदेखि पानी खान नपाएर काकाकुलको जीवन गुजारेका जनताले त्यस दिन उद्घाटन गरेर सुरु भएको खानेपानी, बिजुली र बैंकिङ सेवाको चर्चा गरिएन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफ्नो गाउँमा सेवा सुविधा आएपछि जनता खुसी भएर संयोगबश परेको मेरो जन्मदिनमा काटिएको केकले काठमाडौंमा भुइँचालो नै ल्यायो ।’
प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना देशलाई समृद्ध र जनतालाई सुखी बनाउन गरिएको वताउँदै अनावश्यक विवादले नभई वैचारिक स्पष्टताले पार्टी बलियो हुने वताउनु भयो । उहाँले पार्टी आफैंमा साध्य नभएको वताउँदै देश निर्माणका लागि पार्टी महत्वपूर्ण साधन भएको वताउनु भयो । ‘पार्टी निर्माण नै गन्तब्य होइन, गन्तब्य देश निर्माण हो, त्यसका लागि पार्टी चाहिएको हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पार्टीले निर्माण गरेको यस सरकारले दूरगामी महत्वका काम गरिरहेको छ ।’
दशौंवर्ष अघिदेखिका जघन्य अपराध र भ्रष्टाचार अन्त्य गर्न सरकारले अग्रसरता लिएको वताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो कदम विरुद्ध अन्य केही पार्टी माइतीघर मण्डलामा आउन थालेको वताउनु भयो । ‘१२ वर्ष अघिदेखि पावरका भरमा लुकाइराखेका भ्रष्टाचारमा धमाधम कारवाही भइरहेका छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो पार्टीका नेता आफ्नो नाम जोडिनासाथ छानविनका लागि राजीनामा दिन्छन्, अरु पार्टी माइतीघर मण्डलामा जुलुश निकाल्छन् । भ्रष्टाचारमा कसैको अनुहार नहेरी कारवाही गरिन्छ ।’
प्रकाशित मिति : 19:06









