१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेकपाका सांसद गुटबन्दीमा लागेपछि संसदमा गणपूरक सङ्ख्या पुगेन, बैठक स्थगित

१५ फागुन, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरू गुटबन्दीमा लागेपछि प्रतिनिधिसभाको बिहीबारको बैठक गणपूरक सङ्ख्या नपुगेर स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गर्नुभएको थियो ।

फाइल फोटो ।

नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो ।

नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ । एक चौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिंँदै बैठक स्थगन गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : 17:15