राष्ट्रपतिको तीनदिने सुदूरपश्चिम भ्रमण : महोत्सव उद्घाटनदेखि उग्रतारा दर्शन
१४ फागुन, कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि तीनदिने सुदूरपश्चिम भ्रमणका लागि जाँदै छिन् । सुदूरपश्चिम भ्रमणका क्रममा आज उनले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म चल्नेछ । समाजका अध्यक्ष रामलाल जोशीका अनुसार महोत्सवको मध्याह्न १२ बजे उद्घाटन गरिनेछ ।

साथै आजै राष्ट्रपति भण्डारीले धनगढीमै आयोजित खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खानेपानी आयोजनाको पनि राष्ट्रपति भण्डारीले निरीक्षण गर्ने कार्यक्रम तय छ ।
यस्तै उनी भोलि दार्चुला र बैतडीको कार्यक्रममा सहभागी हुनेछिन् । भण्डारीले दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
यस्तै पर्सि १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी आफ्नो तीनदिने सुदूरपश्चिम भ्रमण सकेर पर्सि १६ गते काठमाडौं फर्किने कार्यक्रम रहेको शीतलनिवास स्रोतले जनाएको छ ।
प्रकाशित मिति : February 26, 2020 at 9:44 am







