१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

१४ फागुन, काठमाडौं । पार्टी विधान संशोधन गरेर उपाध्यक्ष । त्यसअघि नै संगठन विभाग प्रमुख । राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य । आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्‍याइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ?

उनको खास ‘तागत’ हो– पार्टीभित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसम्मले समीकरण बलियो देखाउन ‘तानातान’ गर्नु । त्यसैको फाइदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन् । गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीका शब्दमा, पार्टीको बाहिरी संगठनात्मक क्षेत्रमा गौतम कमजोर देखिए पनि भित्री समीकरणमा शक्तिशाली छन् । सोही कारण ओली, दाहाल र नेपालसम्मलाई उनको आवश्यकता परेको हो । यो खबर अन्नपूर्ण पोस्टमा छ ।

‘तत्कालीन एमाले र माओवादी एकीकरण प्रक्रियामा वामदेव नभई भएन । अध्यक्षकै पुस्ताका नेता पनि उहाँ (वामदेव) हुनुहुन्छ । वामदेवसँग बाहिरी शक्ति नदेखिए पनि भित्री शक्ति बलियो छ । जोडघटाउका सबै गतिविधिमा उहाँको महत्व बढेकै छ,’ पराजुलीको ठम्याइ छ ।

पार्टीभित्रै अर्को आशंका छ, जस्केलाबाट सांसद बनाएर उनलाई कताबाट प्रधानमन्त्री बनाइन्छ ? ओली र दाहालबीच सरकार र पार्टीको कार्यकारी अधिकार पाँचै वर्षका लागि बाँडिएको छ । उसो भए गौतमको चाहना के त ? उनी निकट नेता पराजुली भन्छन्, ‘संविधान संशोधन गरेर दुवै सदनका बीचमा देखिएको विभेद अन्त्य गरे पनि उहाँ (वामदेव) प्रधानमन्त्री बनिहाल्ने भन्ने होइन । राष्ट्रियसभा सदस्य मात्र हुन उहाँ किन जाने ? प्रधानमन्त्री बन्न नपाए पनि कम्तीमा मन्त्री त बन्न पाउनुपर्‍यो नि ? त्यसका लागि पनि संविधान संशोधन चाहिन्छ ।’

नेकपामा जसरी गौतम शक्तिशाली देखिँदै छन्, त्यो हेर्दा उनको दैनिकी व्यस्त हुनुपर्ने हो । नेता–कार्यकर्तासँगको भेटघाट बाक्लो हुनुपर्ने । कार्यक्रमको चाप पनि उत्तिकै हुनुपर्ने । तर, पछिल्ला तीन दिनयता उनीसँग हरि पराजुली, बलराम बाँस्कोटा, सुमन प्याकुरेल, नरबहादुर धामी, जीवनराम श्रेष्ठलगायत सीमित नेताले मात्र भेटेका छन् ।

गौतमले भने मंगलबार साँझ अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँग भेटघाट गरे । संविधान संशोधनका लागि पार्टीले बनाएको कार्यदल विवादबारे छलफल गरे । त्यसअघि दिउँसो महासचिव विष्णु पौडेलसँग कुराकानी गरे ।

पार्टी सचिवालयदेखि स्थायी समितिसम्म उनकै लागि मरिहत्ते गरेर लाग्ने नेता उनी पछाडि अहिले एक जना पनि देखिन्नन् । राम्रै होस् भन्ने शुभचिन्तक भने केही छन् । केन्द्रीय समितिमा बाँस्कोटा, पराजुली, केशवलाल श्रेष्ठ, सावित्रीकुमारी भुसाल, यमलाल कँडेल, उमादेवी कोइराला, लालबहादुर विक, गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर रानालगायत एक दर्जन जति नेता उनी पक्षमा चिनिएका छन् । संघीय संसद्मा दार्चुलाका गणेशसिंह ठगुन्ना, बझाङका भैरवहादुर सिंह, काभ्रेकी नवीना लामा, पत्नी तुलसी थापा, राधा ज्ञवाली उनका लागि पछि लाग्न सक्ने देखिन्छन् ।

प्रकाशित मिति : 07:17