प्रमाणपत्र तहपछि छोराछोरी पढाउन खर्च गर्दिनः मन्त्री पुन
१३ फागुन, रोल्पा । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्ना एक छोरा र एक छोरीलाई प्रमाणपत्र तहपछि आफूले खर्च दिएर नपढाउने घोषणा गर्नुभएको छ । मन्त्री पुनले प्रमाणपत्र तहपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको उल्लेख गर्नुभयो ।
‘मेरो एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन अस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भन्नुभयो, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्न ।

म आर्थिक दायित्व लिन सक्दिन आफैं कमाएर पढ्नू भनिसकेको छु ।’ मन्त्री पुनले प्रमाणपत्र तह अध्ययन गरेका विद्यार्थीले आफैं काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु बिडम्बना भएको बताउनुभयो । उहाँले आफूले जस्तै छोराछोरीलाई आफैं कमाएर पढ्नका लागि प्रशिक्षत गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गर्नुभयो ।
‘१८ वर्ष पुगेको हरेक मानिस दक्ष जनशक्ति हो’, उहाँले भन्नुभयो, ‘१८ वर्षपछिकाले बाबुआमाको कमाई खाने होइन, आफैं कमाएर खानुपर्छ ।’आफू एक कक्षामा भर्ना हुँदा गाउँबाट डेढ घण्टा खाली खुट्टा पैदल हिंडेर स्कुल जाने गरेको स्मरण गर्दै मन्त्री पुनले अहिले टोलटोलमा स्कुल रहेको भन्दै त्यसलाई परिवर्तन र क्रान्तिसँग तुलना गर्नुभयो ।
गलत शिक्षा नीतिका कारण विद्यालय र क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने थलोका रुपमा रुपान्तरण भएकाले वर्तमान सरकारले शिक्षालाई व्यवहार, सिप, श्रम र दक्षतासँग जोडेर शिक्षा नीति विस्तार गरेको मन्त्री पुनको भनाइ थियो । ‘सरकारले व्यवहारिक, वैज्ञानिक र जिवनोपयोगी शिक्षामा जोड दिएको छ’, मन्त्री पुनले भन्नुभयो, ‘अब स्कुल र क्याम्पसहरुबाट बेरोजगार होइन, देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ ।
’ उहाँले विद्यालयस्तरमै प्राविधिक धारको शिक्षामा जोड दिइएकाले विगतको जस्तो अवस्था अब नरहने उल्लेख गर्नुभयो । फरक प्रसंगमा मन्त्री पुनले केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकको समृद्धिलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति : 18:57













