१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

भ्रष्टाचारको व्यापकता बारेमा प्रधानमन्त्रीले सांसदमा जवाफ दिनुपर्ने कांग्रेसको माग

१३ फागुन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक अनियमितता कुरा उठिरहेकाले यसबारेमा प्रधानमन्त्रीले सदनलाई प्रष्ट पार्नुपर्ने बताउनुभयो । “विभिन्न आर्थिक अनियमिता भएका घटनाका बारेमा तत्कालै संसद्मा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो ।

संसद्ले चुनेको प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै रिजालले नेपाल वायु सेवा निगमका जहाज र स्याटेलाइट खरीद, नेपाल ट्रष्टको जग्गा भाडा, टेलिकमको फोरजी सेवा विस्तारलगायत परियोजनामा भ्रष्टाचारले व्यापकता पाएको आरोप लगाउँदै यसमा सरकारको धारणा माग गर्नुभयो ।

समाजवादी पार्टीकी सरिता गिरीले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको र भ्रष्टाचारको नयाँ स्वरुप देखा परेको भनी चिन्ता व्यक्त गर्दै विभिन्न अनियमिताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै काम नगरेको भनी गुनासो गर्दै सांसद गिरीले यती होल्डिङसलाई कौडीको भाउमा नेपाल ट्रष्टका जग्गा दिइएको तथा नेपाल टेलिकम, सेक्युरिटी प्रेस खरिद प्रक्रियामा गलत तरिका अवलम्बन गरेर भ्रष्टाचार संस्थागत गरिएको आरोप लगाउनुभयो । राजपाका प्रमोद साहले पटकपटक संविधान संशोधनका विषयमा सत्तारुढ दलसँग सहमति भए पनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : 17:11