१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

६ फागुन, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका मन्त्री, सांसद तथा नेता, कार्यकर्ताको लेबीमा एकरूपता ल्याएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएको २१ महिनापछि यस्तो एकरूपता ल्याएको हो ।

फाइल तस्बिर ।

अहिले केन्द्रीय कमिटीको बैठकपछि जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार सङ्घीय संसद्का सदस्यहरूका लागि मासिक लेबी १२ हजार तोकिएको नेकपा कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिए । यसअघि तत्कालीन एमालेका सांसदहरूले मासिक १३ हजार र तत्कालीन माओवादी केन्द्रका सांसदहरूले मासिक १२ हजार रुपैयाँ लेबी पार्टीलाई बुझाउँथे ।

फागुन १ देखि लागू हुने गरी नेकपाका हरेक सांसदले मासिक १२ हजार बुझाउनुपर्ने हुन्छ । यद्यपि यो लेबी भिन्दाभिन्दै कोषमा जम्मा हुनेछ । हालसम्म नेकपाको संयुक्त खाता नखुलेका कारण तत्कालीन पार्टीहरूकै कोषमा जम्मा हुने कार्यालय सचिव रिजालले बताए । अब चाँडै  पार्टीको खाता सञ्चालन हुने उनको भनाइ उद्धृत गर्दै गोरखापत्र दैनिकले समाचार प्रकाशन गरेको छ ।

पार्टीका सबै नेताको लेबीमा एकरूपता गरिने छ तर सांसदबाहेक अरू कसैको लेबी तोकेको छैन । चाँडै सबैको एकरूपता हुने गरी तोकिने उनले बताए । साथै पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रूपमा निर्वाह खर्चको प्रबन्ध गरिने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । अहिले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको संसदीय दलको कार्यालय पनि छुट्टाछुट्टै छन् । संसदीय दलको कार्यालय अविलम्ब एकीकृत गरिने बताइएको छ ।

महानगर र कमिटीको मर्यादा जिल्ला कमिटीसरह र उपमहानगर कमिटीको मर्यादा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीसरह हुने विधानको व्यवस्थाको व्याख्या र प्रयोग कसरी गर्ने भनी त्यसको सचिवालयमा छलफल गरी समाधान गरिने बताइएको छ ।

प्रकाशित मिति : 06:44