अङ्ग्रेजी भाषा सिकाउ तर गुणस्तरका नाममा नेपाली बिगार्न पाइँदैनः शिक्षामन्त्री पोखरेल
५ फागुन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताउनुभएको छ । शिक्षा पत्रकार समूहले आफ्नो २० औँ वार्षिक साधारणसभाका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा नीति जारी र नयाँ कानूनको निर्माण हुनुले शैक्षिक रुपान्तरणको बाटो तय गरेकाले अब स्थानीय तह र शिक्षक तथा समुदायले सक्रिय जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता हो, शिक्षाले दिनुपर्ने ज्ञान, सीप र चरित्र निर्माणका लागि अभिभावकहरुले पनि आफ्नो तर्फबाट रुपान्तरणका लागि हस्तक्षेप गर्न आवश्यक छ, गुणस्तरका नाममा अङ्ग्रेजी भाषा सिकाउ तर नेपाली बिगार्न पाइँदैन ।”
उहाँले शिक्षाका सबै मुद्दा पत्रकारिताका माध्यमबाट उजागर भएको जनाउँदै शिक्षामा पछिल्लो समयमा भएका शिक्षाका ठूलाठूला परिवर्तनलाई स्थान दिन आग्रह गर्नुभयो । मन्त्री पोखरेलले विद्यालय शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्चशिक्षासम्बन्धी अलगअलग सङ्घीय शिक्षा ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षासहित शिक्षामा २५ वर्षे दीर्घकालीन सुधारको खाका तयार गरिएको जनाउनुभयो । शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा समुदायको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । अर्का शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षक र विद्यार्थी दलीय आधारमा नभई रुपान्तरणका लागि स्पष्ट भएर जागरुक हुनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : February 17, 2020 at 5:04 pm









