७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ढुंगाना र सिंहलाई इन्जा सामुदायिक पत्रकारिता पुरस्कार, रेग्मीलाई इन्जा श्रष्टा सम्मान

४ फागुन, काठमाडौं नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित यस वर्षको इन्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहले संयुक्त रुपमा प्राप्त गरेका छन् ।

१ हजार अमेरिकी डलर राशिको यो पुरस्कार पत्रकार ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशितम छाउपडी रिपोर्टर र पत्रकार सिंहको हिमाल खबर पत्रिकामा प्रकाशितकुपोषित बाजुरा शीर्षक आलेखले प्राप्त गरेका हुन् ।

सन् २०१९ भरिमा प्रकाशित ३ सय ५१ समाचार तथा फिचर प्रतिस्पर्धामा सामेल थिए । पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनोट समितिले निर्धारण गरेको मापदण्डअनुरुप दुवै आलेखले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय भएको हो ।

पत्रकार ढुंगानाकोम छाउपडी रिपोर्टर आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सो सम्वन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतीहरुको चित्रण गरिएको छ ।

पत्रकार सिंहकोकुपोषित बाजुरा शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्छ ।

यसैगरी १ हजार डलर राशिको यस वर्षको इन्जा श्रष्टा सम्मान पुराना पत्रकार, वरिष्ठ साहित्यकार तथा प्राध्यापक ८५ वर्षीय चूडामणि रेग्मी (चुमरे) लाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैलेपूर्वको मोतीराम भनेर सम्मान गर्ने गर्छन् ।


झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशनसमेत गरेका थिए । उनले आफ्नो जीवनको अधिकांश समय साहित्यिक गतिविधिमा बिताएका छन् । झापाबाट चर्चित भएका धेरै साहित्यकारहरुलाई प्रोत्साहित गर्न जुहीले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
इन्जाका वरिष्ठ उपाध्यक्ष सुनीलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेसास डीसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

यी पुरस्कार तथा सम्मान आगामी मार्च १, २०२० मा काठमाडौंमा आयोजना हुने इन्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम छ ।

 

प्रकाशित मिति : February 16, 2020 at 8:04 am