१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ओरालो लाग्दै प्याज, अकाशिँदै लसुनको भाउ !

३ फागुन, काठमाडौं झन्डै ६ महिना नेपाली उपभोक्ताका भान्सामा प्याज र लसुनको भाउ बढेर आतंक छ । अहिले भने प्याजको भाउ ओरालो लाग्दै छ भने लसुन अझै बढ्दो क्रममै छ ।

झन्डै ६ महिना प्याजको भाउ आतंकले सबैलाई त्राहिमाम बनायो । गत असोजमा ३० देखि ३५ रुपैयाँ प्रतिकिलोमा पाइने प्याज एक महिनाभित्रै उपभोक्ताका भान्सामा एकाएक २५० देखि ३५० रुपैयाँ प्रतिकिलोका हिसाबले भित्रियो । नेपाली उपभोक्ताबीच आतंक छायो । प्याजको आतंक । तर, अहिले भने प्याजको भाउ केही मत्थर भएको छ ।

नेपाली बजारमा अहिले ठाउँ हेरि ७० देखि सय रुपैयाँ प्रतिकिलोका रुपमा प्याज बिक्री भइरहेको छ । यसले उपभोक्तालाई केही न केही राहत दिएकै छ । थोक मूल्य पनि ५५ देखि ७० रुपैयाँ प्रतिकेजीकै भाउमा कारोबार भइरहेको कालीमाटी बजार व्यवस्थापन समितिले जनाएको छ ।

उसो त धेरै वस्तुमा नेपाली बजार भारतीयतर्फै निर्भर रहन्छ । तथ्यांकअनुसार नेपालमा उपभोग गरिने लगभग ९० प्रतिशत हाराहारीमा प्याज भारतबाट आयात हुन्छ । भारतबाट आउने प्याज आयातमा प्रतिबन्ध लागेसँगै नेपाली बजारमा यसको भाउ एकाएक बढेको थियो । पछि चीनबाट आयात बढेसँगै प्याजको भाउमा ह्रास आएको थियो । अझ बजारमा नयाँ प्याज भित्रन थालेसँगै प्याजको मूल्यमा कमी आएको व्यापारीहरु बताउँछन् । यता भारतबाट पनि प्याज आयातमा केही बढोत्तरी भएसँगै यसको भाउ घटेको हो ।

लसुनको भाउ बढेसँगै करोबार पनि ठप्प
यता प्याजको भाउ निरन्तर ओरालो लागे पनि लसुनको भाउ बरु उकालो लाग्न छाडेको छैन । तर, लसुनको भाउ बढेसँगै कारोबार झन्डै ठप्प झैं रहेको व्यवसायीहरु बताउँछन् ।

चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्पप्राय: भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिको भनाइ छ । काठमाडौँ उपत्यकाको लसुनको माग चिनियाँले धान्दै आएकामा नोभेल कोरोना भाइरस फैलिने डरले दुई देशका व्यापारिक नाका बन्द गरिएका छन् । नाका बन्द भएसँगै कालीमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको हो । समितिका अनुसार माघ २२ देखि लसुनको कारोबार ठप्पजस्तै भएको हो ।

लसुन र प्याजमा कीर्तिमानी भाउ, दोषी को ?
नेपाली उपभोक्तामाझ लसुन र प्याजको भाउले कीर्तिमानी राखे पनि उपभोक्ताले उपभोग गर्न भने छाडेका छैनन् । यस्तै कुखुराको मासुले पनि कीर्तिमानी भाउ कायम गरेको छ ।

हामी आफैं पो दोषी भएको त होइन कतै ? उत्पादन नगर्ने, आयातमै निर्भर हुने हामी अब्बल उपभोक्ता कि परनिर्भर ? सोचनीय कुरोलाई मनन् गरी लसुन र प्याजलाई भान्सामा कम भित्र्याउने अर्थात् कम उपभोग गर्न सक्दैन र ?

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार १०:०७