कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर
२९ माघ, दार्चुला । नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले बताएका छन् । वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको भारी बोक्नेलगायत काम गर्दै आएका नेपालीले सीमा विवादको मुद्दा चर्किएपछि काम गर्न नदिएको गुनासो गरेका हुन् ।
नेपाल र भारतबीच विवादित भूमि कालापानीमा भारत सरकारले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको खबर गोरखापत्र दैनिकमा छ । गत वर्षसम्म सयौँ नेपाली मजदुरले कालापानी क्षेत्रका विभिन्न गाउँमा गएर मजदुरी गर्ने गरे पनि यो वर्ष सीमा विवादको मुद्दा चर्किएपछि भारतीय सुरक्षाकर्मीले नेपालीलाई गालीगलौज गर्ने गरेको व्यास गाउँपालिकाका जनक भट्टले बताए । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा राखेपछि सबै नेपालीले विरोध गरिरहेका छन् ।
व्यास गाउँपालिका ४, सुन्सेराका नारद भट्टले भने, “नेपाल सरकारले सीमा क्षेत्रमा राज्यको बलियो उपस्थिति र सीमासम्म सडक निर्माण गर्न नसकेकै कारण नेपाली भूमि कालापानीमा भारतीय सुरक्षाकर्मीले एकलौटी गरेका छन् ।” सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा भारतले कालापानीमा अस्थायी क्याम्प बनाएको जानकारहरू बताउँछन् । युद्ध सकिएको करिब ६ दशक बित्न लाग्दा पनि भारतले प्रयोग गरेको भूमि नेपाललाई छोड्नुको साटो सैनिक थप्दै लगेको स्थानीय उमेशदत्त भट्ट बताउँछन् ।

कालापानीमा भारत सरकारले आईटीबीपी, एसएसबी र आर्मी गरी झन्डै ४ सय सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल सरकारले दार्चुला सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरी र नेपाली सेना राखेर सीमा क्षेत्र सुरक्षाविहीन छोडेको छ । सीमामा सशस्त्र प्रहरीको उपस्थिति गराउने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ भइरहेको स्थानीयको गुनासो छ ।
कालापानीभन्दा निकै तल टिङ्कर र सीतापुलमा सानै सङ्ख्यामा भए पनि ६ महिना नेपाल प्रहरीको उपस्थिति हुन्छ । तर मङ्सिरदेखि चिसो बढ्ने भएकोले स्थानीयसँगै प्रहरीसमेत व्यास गाउँपालिका २, दुम्लिङ झरेको छ । मङ्सिरदेखि वैशाखसम्म सीमा क्षेत्रमा राज्यको उपस्थिति नहुँदा भारतले नेपालको ठूलो भूभागमा कब्जा जमाएको छ ।
विगतमा यहाँका नाबी, कुटी, गुञ्जीलगायत गाउँका बासिन्दाले नेपाल सरकारलाई कर तिरेको प्रमाण भूमिसुधार तथा व्यवस्थापन विभागसँग सुरक्षित भए पनि पछिल्लो समय उक्त क्षेत्रमा भारतको दबदबा बढेको छ ।
छिमेकी भारतले धारचुला तहसिलअन्तर्गत पर्ने उत्तरी क्षेत्र घट्टेबगडदेखि अतिक्रमित भूमि कालापानीसम्म सात ठाउँमा १८ वटा भारतीय सुरक्षाकर्मीका युनिट तैनाथ गरेको छ ।
छियालेकबाट माथिको सीमा क्षेत्रमा भारतले नोटिफाइड क्षेत्र नै घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस क्षेत्रमा प्रवेश गर्ने विदेशी नागरिकले बहुद्देशीय यात्रा अनुमतिपत्र बनाउनुपर्ने हुन्छ । सदरमुकाममा मात्रै केन्द्रित नेपाली सुरक्षाकर्मी वर्षको एक-दुईपटक मात्रै खलङ्गाबाट त्रिदेशीय सीमा क्षेत्रको गस्तीमा जाने गरेका छन् ।
दार्चुलाको एक सय ९८ किलोमिटर सिमाना भारत र १५ किलोमिटर चीनसँग जोडिएको भए पनि हालसम्म जिल्ला सदरमुकाम खलङ्गाबाहेक कुनै पनि सीमा क्षेत्रमा हालसम्म सशस्त्र प्रहरीको उपस्थिति रहेको छैन ।
प्रकाशित मिति : February 12, 2020 at 6:27 am







