७ असार २०८३, आइतबार | Sun Jun 21 2026

छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री

२८ माघ, जाजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

भेरी नगरपालिका–११ का रुपलाल शर्माले भन्नुभयो, “आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नाैँ, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।” भेरी नगरपालिका–४ एकदेव शर्माले भन्नुभयो, “आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छुँ, सानो जात र ठूलो जात भन्ने हुँदैन ।”

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका रुपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा देवतालाई अगाडि सारेर नै छुवाछूतजस्तो हुने गरेकोे छ, अब हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिनुभएको छ, यो खुशीको कुरा हो ।”

प्रकाशित मिति : February 11, 2020 at 4:16 pm