सुस्तामा पक्की घर निर्माण गर्दै सरकार
२८ माघ, काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणीपारिको सुस्तामा टिनले छाएका वा पक्की घर बिरलै देखिन्छ । यहाँका सबैजसो घर खर र झिँगटीले छाएका छन् । माटो र बाँसले बारेर बनाइएका तिनै बुकुरा घर वर्षामा डुबानमा पर्छन् ।

वर्षाको पानी र पुस, माघको सिरेटो नछेक्ने झुप्रामा सर्प, किराको जोखिम त्यतिकै हुन्छ । सुरक्षित घरबास नहुँदा बालबालिका तथा बृद्धबुद्धालाई रुखाखोकी ज्वरो जस्ता स्वास्थ्य समस्याले सताउने गरेको स्थानीय बताउँछन् । सुस्ताका यिनै समस्या सम्बोधन गर्दै नमुना बस्तीको रुपमा विकास गर्न प्रदेश सरकारले यो वर्ष जनता आवास कार्यक्रम लागु गरेको खबर नागरिक दैनिकमा छ । त्यसका लागि ५ करोड २५ लाख बजेट छुट्याइएको छ । जसबाट सुस्तामा टिनले छाएका पक्की घर निर्माण गर्ने योजना प्रदेश सरकारको छ ।
३ हजार १ सय ३३ जनसंख्या रहेको सुस्तामा २ सय ७२ घरधुरी छन् । ती मध्ये जम्मा १५ घर पक्की छन् । प्रदेश सरकारको योजनाअनुरुप पहिलो चरणमा जस्तापाताले छाएका ६९ पक्की घर बन्नेछन् । त्यसका लागि प्रतिघर ३ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइनेछ । यो बजेटबाट स्थानीयले जस्ताले छाएको दुईकोठे पक्की घर र शौचालय निर्माण गर्नुपर्नेछ । घरको नापनक्साका लागि प्रदेश सरकारले नै प्राविधिक सहयोग उपलब्ध गराएको प्रदेशको शहरी विकास तथा भवन कार्यालय रुपन्देहीका प्रमुख गोविन्द गौतमले बताए ।
घरको जग पुरेपछि स्थानीयलाई पहिलो चरणको किस्ता निकासा दिइनेछ । गौतमका अनुसार २५ प्रतिशतका दरले ४ किस्तामा स्थानीयलाई रकम उपलब्ध गराइनेछ । घर निर्माणको कुल खर्चमध्ये कम्तीमा १० प्रतिशत लगानी व्यक्ति स्वयंले गर्नुपर्नेछ ।
प्रकाशित मिति : February 11, 2020 at 6:52 am







