नुवाकोटको कोलनीमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुँदै
२५ माघ, नुवाकोट । नुवाकोटको कोलनीमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुँने भएको छ । तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत २८५६ औँ जिवा ङयाम्न्यु ल्हो मुसा वर्गको अवसरमा यही माघ २९ गते सोनाम ल्होछार विशेष सांस्कृतिक शुभकामना अादान प्रदान कार्यक्रम गर्न लागेको तामाङ घेदुङ किस्पाङकी काेषाध्यक्ष समेत रहेकी नेकपा नेतृ सानुमाया पाख्रिनले जानकारी दिइन ।

सांस्कृतिक कार्यक्रमा ख्याती प्राप्त र नुवाकोटको स्थानीय स्तरमा रहेका प्रतिभाशाली तामाङ कलाकारहरूले विभिन्न प्रस्तुती दिनेछन । नेकपाकी नेतृ पाख्रिनका अनुसार सांस्कृतिक कार्यक्रममा घोडा नाच, बँदेल नाच, ललिमो नाच, लामा नाच, वोन्बो नाच लगायत तामाङ कला संस्कृति झल्किने विविध झाँकी नाचहरू प्रस्तुत गरिन्छ ।
माघ २९ गते विदुर नगरपालिका वडा नम्बर ९ कोलनीको खेल मैदानमा हुने कार्यक्रममा नेकपाका नेता पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङफलाइ प्रमुख अतिथि बनाइएको छ । त्यस्तै बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङलाइ विशेष अतिथि बनाइएको छ भने प्रतिनिधिसभा सदस्यद्धय हितबहादुर तामाङ र नारायण खतिवडा, प्रदेशसभा सदस्यहरू हिरानाथ खतिवडा, केशव पाण्डे, बद्री मैनाली र अाशा माया लामालाइ अतिथिको रूपमा निमन्त्रणमा गरिएको तामाङ घेदुङ नुवाकोटका अध्यक्ष जयमान वाइबाले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहमा रहेका तामाङ घेदुङको समन्वयमा तामाङ संस्कृतिको संरक्षण र संवर्द्भनका लागि कार्यक्रम गरिएको बताइएको छ ।

के हो सोनाम ल्होछार ?
सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।
‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् ।
बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।
प्रकाशित मिति : February 8, 2020 at 11:37 pm









