३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत

२३ माघ, काठमाडाैँ । ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ ।राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलपछि उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले विश्वविद्यालयको मूलभूत सिद्धान्तका बारेमा विधेयकमा अलि प्रस्ट हुन नसकेको टिप्पणी गर्नुभयो । त्यस्तै सांसद डा विमला राई पौडेलले सम्बन्धित निकायसँग प्राप्त छलफल गरेर मात्रै विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । सांसद रामप्रीत पासवानले संविधानमा व्यवस्था गरिएको समानुपातिक व्यवस्थालाई विधेयकले ध्यान नदिएको बताउनुभयो ।

सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले दर्शन, संस्कृति र प्रकृतिको आवश्यकताका आधारमा विधेयक आएको प्रस्ट पार्नुभयो । उहाँले सांसदहरुले उठाउनुभएको सान्दर्भिक सुझावलाई समावेश गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । छलफलमा सांसदहरु प्रकाश पन्थ, बद्रीप्रसाद पाण्डे, राधेश्याम अधिकारी, खगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल र जीवन बुढाले भाग लिनुभएको थियो । राष्ट्रियसभाको अर्को वैठक यही माघ २७ गते सोमबार अपराह्न २ बजे बस्नेछ ।

प्रकाशित मिति : February 6, 2020 at 5:19 pm