३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

महिनावारी हुँदा पनि घरमै बस्न पाएपछि…

२३ माघ, बाजुरा निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको खबर गोरखापत्र दैनिकमा छ ।

एक महिना अघिसम्म बूढीगङ्गा नगरपालिका ८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउँथिनन् । आँगनछेवैमा रहेको साँघुरो छाउगोठमा असजिलो गरी बस्नुपर्थ्यो । केही दिनअघि स्थानीय जनप्रतिनिधि र प्रहरी आएर सम्झाई बुझाई उनी बस्ने छाउगोठ भत्काए । त्यसपछि उहाँ महिनावारीका बेला पहिलोपटक छाउगोठबाट घरमा सरिन् ।

“म सधैँ यही कोठामा सुत्थेँ,” घरको तल्लो तलामा रहेको एउटा कोठाभित्रको खाट देखाउँदै उनले भनिन्, “सरकारले छाउगोठ भत्काएपछि आफ्नै कोठामा सुतेँ ।” घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उनले बताइन् । घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ ।

“म छाउ हुँदा यो कोठाबाट घरका मान्छेको माथिल्लो तला जान नहुने भएकाले यो बाटो थुनिएको हो,” बच्चालाई स्तनपान गराइरहेकी पवित्राले त्यसका कारण खुलाइन् । घरभित्रबाट लिस्नो चढ्ने बाटो थुनेर बाहिरबाट बार्दली हुँदै चोटामा जाने भर्‍याङ लगाइएको छ ।

बूढीगङ्गा नगरपालिका ८ का वडासदस्य सुरेन्द्रबहादुर थापाका अनुसार असुरक्षित छाउगोठ भत्केपछि महिला महिनावारीका बेला पनि घरमै बस्न थालेका छन् । गैरसरकारी र सरकारी प्रयासबाट २०६८ मै छाउगोठमुक्त भइसकेको यस वडाका केही घरमा रहेका छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काइएसँगै सबै परिवारले महिनावारीका बेला महिलालाई बस्न घरमा सुरक्षित कोठा छुट्याएको पाइएको थापाको भनाइ छ ।

सोही नगरपालिका १० का वडाध्यक्ष धर्मराज जैसीको मूल घरमा पनि केही दिन अघिसम्म छाउगोठ थियो । शौचालयमाथि तला थपेर महिलाले बस्ने छाउगोठ बनाइएको थियो ।

वडाध्यक्षका परिवार गाउँनजिकैको रिठाबजारमा बसोवास गर्ने भए पनि उनका बुबा र भाउजू महेश्वरी जैसी भने गाउँकै घरमा बस्दै आएका छन् । त्यस छाउगोठमा भाउजू महेश्वरी महिनावारीका बेला बस्दै आएकी छन् । छाउगोठ भत्काइएपछि घरकै कोठामा सुत्न पाइने कुराले आफू खुसी रहेको महेश्वरीले बताइन् ।

वडा १० कार्यालयका अनुसार यस वडामा सात सय घरधुरी छन् । जसमध्ये अधिकांशले धेरै पहिले नै छाउगोठको चलन छाडिसकेका छन् । सरकारको पछिल्लो अभियानका क्रममा वडाभरिमा जम्मा ५२ वटा छाउगोठ भेटिएका र सबैलाई नष्ट गरिएको जानकारी वडाध्यक्ष जैसीले बताइन् ।

प्रकाशित मिति : February 6, 2020 at 6:45 am