३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

काठमाडाैँको बानेश्वरमै नेकपाका नेता हरिदेव गिरीको हत्या

२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिदेव गिरीको हत्या भएको छ । मंगलबार राति काठमाण्डौकाे बानेश्वर, आलोकनगरमा रहेकाे डि चिफ एण्ड किचन रेष्टुरेष्टमा गिरीको हत्या भएको प्रहरीले बताएका छन । परिवारले हत्या भएको दाबी गरेका गिरी नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष समेत हुन ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका ५१ वर्षीय गिरी रेष्टुरेन्टमा मृत अवस्थामा भेटिएका थिए ।  गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको तथा देब्रे खुट्टा भाँचिएको अवस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले जानकारी दिएका छन ।

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन । उनले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ज्यान मुद्धासम्बन्धी जाहेरी दिइ घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग समेत गरेका छन ।

आफन्तले रेष्टुरेष्ट सञ्चालक एवं अन्य व्यक्तिको घटनामा संलग्नता रहेको दावी गर्दै रेष्टुरेष्टकाे सीसी क्यामरा फुटेज समेत मेटाएको पाइएको बताएका छन् । आफन्तले रेष्टुरेष्ट सञ्चालकले घटनाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् । महानगरीय प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान सुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा भन्न सकिने बताएका छन ।

प्रकाशित मिति : February 5, 2020 at 9:18 pm