यौन सम्पर्कपछि पैसामा कुरा नमिल्दा अजिताको हत्या, ५ जना सार्वजनिक
२१ माघ, हेटाैँडा । मकवानपुरकाे हेटौंडा महानगरपािलका वडा नम्बर ११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार मकवानपुर जिल्ला प्रहरी कार्यालयले हेटौंडामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो।
अजिताको शव यही माघ ४ गते बिहान हेटौंडा-५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो। मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताकाे हत्या भएकाे अनुसन्धानबाट खुलेकाे छ।

प्रहरीले घटनामा संलग्न आरोपमा हेटौंडा-४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा-९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल र हेटौंडा-४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा-११ थानाभर्याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी अजितासँग यौन सम्पर्क गरेका थिए। तर सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनकाे हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको हाे। हत्यापछि उनीहरू शव ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेका थिए।
काठमाडौँ महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरी टोलीले गरेको अनुसन्धानबाट उनीहरू पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी राठौरले जानकारी दिए। घटनामा संलग्न अझै २ जना फरार रहेकाले खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।
प्रकाशित मिति : February 4, 2020 at 12:23 pm









