१ असार २०८३, सोमबार | Mon Jun 15 2026

खेल्ने बालबालिका हँसिला र आत्मविश्वासी

१८ माघ, काठमाडौं । शारीरिक व्यायाम र मानसिक कसरत हुने पहिलेका खेललाई अचेल मोबाइल, आइप्याडले विस्थापित गरेको छ । मानिसको सहयोगी (दास) प्रविधि होइन, प्रविधिको दास मानिस बन्दै गएको छ ।

बाल्यकालमा जाडो महिनाको बिदा हुँदा गुच्चा खेलेको झलझली सम्झना आउँछ जनकवि दुर्गालाल श्रेष्ठलाई । उनले सहरका गल्ली, सडकमै गुच्चा खेल्दै कुद्ने गरेको सम्झना कहिल्यै बिर्सन नसक्ने बताए । उनले ती दिन धेरै रमाइला थिए । ‘असनको चोकमा गुच्चा खरिद गर्न जान्थ्यौँ । एक पैसाको खरिद गथ्र्यौं होला त्यति सम्झना त भएन तर पनि खल्तीभरि गुच्चा हुन्थे । मोबाइलको जमानामा भने अचेल सहरमा गुच्चा खेल्ने बालबालिका पाउन गाह्रै छ । एक त खेल्ने ठाउँ पर्याप्त छैन, अर्को मोबाइलमै झुम्मिन्छन् प्रायः सबै बालबालिका,’ उनले सुनाए ।

संस्कृतविद् सत्यमोहन जोशी आफ्नो निशानामा तारो हान्ने एकाग्र शक्ति वृद्धि गर्ने खेलमध्ये मेरो रोजाइ गुच्चा हो । काँचका गोला गुच्चा बगलीमा प्रायः सबैसँग हुने उनले स्मरण गरे ।

फाइल तस्बिर ।

गुच्चा दुई जनाको बीचमा खेलिन्छ । हार–जितमा गुच्चा नै लिने वा हार्नेले आफ्नो खुट्टाको गोलीगाँठोमा गुच्चाको ठोकाइ खाने सहमतिमा खेल सुरु हुन्थ्यो । गोलीगाँठो ठोक्ने सजायलाई ‘गौ छ्या य्गु’ भनिन्छ । जित्नेको दया-मायामा त्यो ठोकाइ साह्रो या सामान्य हुन आउँछ । कहिले काहीँ रुनैपर्ने गरी ठोकाइ खाइन्छ ।

चिकंमुगल टोलको कृष्ण सत्तलमा बुबाको पालादेखि खेलौना पसल गर्दै आउनुभएका दीपेन्द्रकुमार रञ्जितकार पहिले गुच्चा खरिद गर्न बालबालिका खुब आउँथे । तीन सय जति गुच्चाका प्याकेटको पहिले दुई रुपैयाँ मात्र पथ्र्यो । एक सुका वा एक मोहोर हुनु नै ठूलो कुरा थियो, त्यो बेला भन्छन् ।

अहिले बालबालिकाले गुच्चा खेल्नै छाडिसकेको उनलाई उद्धृत गर्दै गोरखापत्र दैनिकमा खबर छ । त्यसरी गुच्चा किन्न आउने बालबालिका नै लगभग शून्य भइसके, बेच्न आउने त टाढैको कुरा हो । रञ्जितकार खेल्ने ठाउँ छैन, सडक र गल्ली गाडी र मोटरसाइकलले ढाकिसके, खुला ठाउँ हराइसकेको बताउँछन् ।

बालविवाहको चलन रहेको उतिबेला केटा र केटी सँगै खेल्न हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा भाइबाहेक अरू केटा साथीसँग नखेलेको अभिनेत्री वसुन्धरा भुसाल बताउँछिन् । उनले बाल्यकालमा गट्टा, तेलकासा, कबड्डी, रुमाल लुकाई, डोरी तानातान, पिङ, ढक्का, वनभात खाने, पुतली, गुच्चा जस्ता खेल खेलेको सुनाइन् । बालापन धोबीचौरमा बिताएकी भुसालले आफ्नो बालापन नसम्झेको धेरै भएको थियो अहिले ती रमाइला दिन सम्झँदा ज्यादै खुसी लागिरहेको सुनाइन् ।

नेपालकै पहिली नायिका भुवन चन्दले बाल्यकालमा गट्टा, तीनखुट्टी, गुच्चा, लुकामारी जस्ता खेल खेलेको मलाई धेरै याद छैन । सानैदेखि कलाकारितामा लागेकाले खेल्ने फुर्सद धेरै नभएको बताइन् । अहिलेको काठमाडौँको अवस्था हेर्दा उतिबेलाका खेल प्रायः सबै लोप भइसकेको अनुमान गर्न कठिन छैन । यी खेल लोप हुनुमा प्रविधिको विकाससँगै बढ्दो सहरीकरणको प्रभावलाई कारण मान्न सकिने उनले जानकारी दिइन् ।

यस्तै त्यौडः का गुच्चा व्यापारी अष्टनारायण पुजारीले पहिले जस्तो अहिले व्यापार नभएको गुनासो गरे । पहिले जाडो महिनामा भ्याई नभ्याई हुन्थ्यो तर अहिले के गर्मी महिना, के जाडो महिना बालबालिका गुच्चा, चुङ्गी जस्ता खेल खेल्न नै बिर्सिसकेका छन् । ढलमा खसेको पनि गुच्चा खोजेर खेल्ने गथ्र्यौं, साना केटाकेटी हरेकको खल्तीमा गुच्चा हुन्थ्यो तर अहिले हरेकको हातमा मोबाइल भइसकेको छ । उनले घर, रेस्टुरेन्ट सजाउन भनेर गुच्चा खरिद गर्न आउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : February 1, 2020 at 7:03 am