गृह सचिवका लागि लविङ गरिरहेका अख्तियारका सचिव न्याैपानेलाई सर्वोच्चले बोलायो
१६ माघ, काठमाडाैँ । गृह मन्त्रालयको सचिव प्रेम कुमार राइले अवकाश पाउने भएपछि उक्त पदमा अाउनका लागि तीव्र लबिङमा लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सर्वोच्च अदालतले बोलाएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाको अभिलेख दिन नमानेपछि अभिलेखसहित १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो ।

नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख लुकाएपछि सर्वोच्चले सचिवालाइ नै बोलाएको हो । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन अादेश दिइएको छ ।
सर्वोच्चले पटक पटक ताकेता गर्दा पनि न्याैपानेले अभिलेख दिन नसकेपछि उक्त मुद्दाको कागजातसहित १५ दिनभित्र इजलाशमै उपस्थित हुन आदेश दिएको हो । सर्वोच्चले अभिलेख लुकाउने अख्तियारको प्रवृतिलाइ राम्रो मान्न नसकिने जनाएको छ ।

प्रकाशित मिति : January 30, 2020 at 7:03 pm









