१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

१६ माघ, काठमाडौं आज माघ १६, सहिद दिवस पनि हो । आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ । दिवसका अवसरमा प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झना गरिँदै छ ।

प्रत्येक वर्ष आजकै दिनमा सहिदलाई सम्झिने गरे पनि उनीहरुको सपना पूरा गर्न काम नभएको जनस्तरबाट गुनासो नआएको पनि होइन । उसो त माघ १० देखि १६ गतेसम्मै विभिन्न कार्यक्रमका गरी सहिद सप्ताह पनि मनाइँदै आएको छ । २०१२ सालदेखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली र माघ १३ गते धर्मभक्त माथेमालाई सिफल तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

उसो त आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरीसमेत गरिएको छ ।

प्रकाशित मिति : 08:35