सीमामा खटियो संयुक्त टोली
१५ माघ, धनगढी । कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि तेस्रोपल्ट संयुक्त सर्भे टोली खटिएको छ । यसअघि दुईपल्ट गठित सर्भे टोलीले सामान्य अवलोकनबाहेक केही गर्न सकेको थिएन । यसपालि पनि खासै प्रगति नहुने टोलीमा खटिएका अधिकारीले बताएका छन् ।

माघ ३ गते भारतको उत्तराखण्ड राज्यको बनबासामा दुवै देशका सुरक्षा र सीमा अधिकारीको बैठकले संयुक्त सीमा सर्भे आरम्भ गरेको थियो । दुई वर्षदेखि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुराको सिमाना मात्रै हेर्ने गरी चौथो संयुक्त सीमा सर्भे टोली गठन हुँदै आएको खबर अन्नपूर्ण पोस्टमा छ ।
आव ०७४/७५ मा प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वको टोली र ०७५/७६ मा प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा रहेको सीमा सर्भे टोलीले सीमा व्यवस्थापन टुंगाउन सकेको थिएन । यसपल्ट पनि प्रमुख नापी अधिकृत जनक भण्डारीको नेतृत्वमा टोली गठन भई सर्भेमा खटिएको छ । भारतका तर्फबाट पनि नापी टोली गठन भएको छ । दुवै टोलीलाई नयाँ पिलर निर्माण, भत्किएका पिलर मर्मत र सीमा विवाद भएका स्थानको रेकी गर्ने जिम्मेवारी छ । जोर नम्बरका पिलर भारतले र बिजोर पिलर नेपालले मर्मत गर्नुपर्ने कार्यादेश छ ।
कैलालीको सीमा स्तम्भ नम्बर ७०० (साविकको ९८) देखि कञ्चनपुरको ब्रह्मदेव सीमा स्तम्भ नम्बर ८११ सम्म (साविकको २१०) को जिम्मेवारी पाएको संयुक्त सीमा सर्भे टोली नम्बर ४ ले कैलालीकै फूलबारीमा सीमा स्तम्भको टुंगो लगाउन सकेको छैन । गत वर्ष फूलबारीमा सर्भे टोलीले नेपालीले चर्चेको भूभाग भारतमा पर्ने भनेपछि विवाद देखिएको थियो । ‘यसपालि पनि खासै प्रगति होला जस्तो छैन । तैपनि हामी रेकीमा गएका छौं’, संयुक्त सीमा सर्भे टोलीका संयोजक जनक भण्डारीले भने ।
धनगढी उपमहानगरपालिका १४ फूलबारीमा सीमा विवादकै कारण ६ वटा पिलर निर्माण गर्न सकिएको छैन । फूलबारीमा सीमा स्तम्भ हराएका छन् । ती सबै सीमा स्तम्भ सार्दा र पुनर्निर्माण गर्दा नेपालीले भोगचलन गरिरहको भूमि भारततर्फ जाने देखिएपछि स्थानीयले विरोध जनाएका थिए ।
प्रकाशित मिति : January 29, 2020 at 7:03 am







