चन्द्रवीरको जोश : जसले हातैले फोडे पहाड अनि गाउँमा पुर्याए सडक
१५ माघ, तुलसीपुर । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेभन्दा धेरै गरे ।
तुलसीपुर–सल्यान खण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किमि टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पुर्याउने । चार वर्षदेखिको उनको सपना अहिले पूरा भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ३, खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पुर्याएको खबर गोरखापत्र दैनिकमा छ । नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयं उनका परिवारका १३ सदस्यमध्ये नौजना दृष्टिविहीन छन् ।
वलीले २०७१ देखि घरसम्म पुग्ने बाटो पुर्याउने सपना देखे । गाउँघरका कतिपय बुज्रुकले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उनी एक्लैले आँट गरी बाटो खन्न थाले । बिहान ४ बजे उठेर बाटो खन्न जान्थे र साँझ आँखाले देखुन्जेल खन्थे ।
राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पुर्याए । वली भन्छन्न्छ, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पुर्याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।”
अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उनको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सडक फराकिलो बनाउन वडा कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको बताए । यस्तै वलीको अर्को पनि सपना छ, पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्न खन्न थालिएको पैदल मार्ग पूरा गर्ने । वलीले एक वर्षदेखि घर नजिकैबाट चमेरे गुफासम्म पुग्ने पैदल बाटो निरन्तर खन्दै छन् । स्वास्थ्यले साथ दिएसम्म बाटो आफैं खनेर सक्ने उनले सुनाए । वृद्धावस्थाका चन्द्रवीरको परिवार १३ जनाको छ । तर आम्दानीको स्रोत भने वृद्धभत्ता र अपाङ्गता भत्ताबाहेक अरु केही छैन ।
प्रकाशित मिति : January 29, 2020 at 6:26 am







