वर्षासँगै हिमपातको सम्भावना
१३ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ ।
अहिले नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली नभए पनि आज साँझबाट पश्चिमी भेकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार तराई तथा पश्चिमी पहाडी भागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना छ ।
पश्चिमी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिमा जनाइएको छ । साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : January 27, 2020 at 7:58 am







