रहिनन् ‘कुसुन्डा’ भाषाको एकमात्र ज्ञाता
१२ माघ, दाङ । ‘कुसुन्डा’ भाषाको एकमात्र ज्ञाताको निधन भएको छ । दाङको लमही नगरपालिका ६, कुलमोहरमा रहेको आफ्नै घरमा कुसुन्डा भाषाकी एकमात्र पूर्ण वक्ता ज्ञानीमैया कुसुन्डाको शनिबार निधन भएको हो ।
उनको निधनसँगै कुसुन्डा भाषा लगभग लोप हुने अवस्थामा पुगेको हो । कुसुन्डा भाषा जोगिइरहोस् भनेर ज्ञानीमैयाले आफ्नै घरमा भाषाको कक्षासमेत सिकाउने गरेकी थिइन् ।

भाषा आयोगले उनलाई भाषिक वृद्धि स्वरुप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो । यस्तै आयोगले उनलाई स्रोत मानेरै २ चरणको भाषा कक्षा पनि चलाएको थियो । ज्ञानीमैयाका एक छोरा र दुई छोरी हुन् । छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भइसकेको छ । छोरीहरुको पनि विवाह भइसकेको छ ।
अब कुसुन्डा भाषा बोल्न जान्ने ज्ञानीमैयाकी बहिनी नाता पर्ने कमला कुसुन्डा मात्रै जीवित छिन् । ज्ञानीमैया र कमलाबीच भेट हुँदा कुसुन्डा भाषामै दोहोरो कुराकानी हुन्थ्यो ।
प्रकाशित मिति : January 26, 2020 at 6:00 am







