३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पर्यटनमन्त्री भट्टराईद्वारा टरिगाउँ विमानस्थलको अनुगमन

१० माघ, तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको आज स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ ।  सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमानस्थलका बारेमा जानकारी गराउँदै ७५० मिटर लम्बाइ रहेको उक्त विमानस्थललाई एक हजार २०० मिटर बनाउन पर्याप्त जमिन भएकाले यसको स्तरवृद्धि गर्न कुनै कठिनाइ नभएको बताउनुभयो ।

उहाँले उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि यात्रुको चाप बढेको भन्दै विमानस्थलको स्तरवृद्धि गरेर ठूलो विमान ल्याएमा सहज हुने बताउनुभयो । टरिगाउँ विमानस्थल वातावरणीय हिसाबले पनि उत्तम रहेको भन्दै उहाँले अहिले विमानस्थलमा इन्धन डिपो र ब्राउजर आवश्यक रहेको जानकारी दिनुभयो ।

प्रमुख पाण्डेले दाङमात्रै नभई, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेतलगायतका करिब १० लाख मानिसलाई यो विमानस्थलबाट सेवा प्रवाह गर्न सकिने बताउनुभयो । सो अवसरमा मन्त्री भट्टराईले यस वर्ष टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि बजेट विनियोजन भएको बताउनुभयो । आगामी वर्ष पनि विमानस्थल विस्तारका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : January 24, 2020 at 5:02 pm