सँगै दारु खान बसेका साथीको छुरा प्रहारबाट एकको मृत्यु, २ पक्राउ
९ माघ, भक्तपुर । मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका ६, भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर १०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्धपोखरीनजिकै रहेको एक गेस्टहाउसबाट पक्राउ गरेको छ । ती दुवैमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।
चार/पाँच साथी सँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा सुवालको छातीमा छुरा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : January 23, 2020 at 8:06 am







