३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

छाउगोठमा बस्न बाध्य पारे ४५ दिन कैद

९ माघ, अछाम । छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका ३, सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले रावतलाई ४५ दिन कैद फैसला सुनाएको स्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए ।

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति भएका छन् । रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । रावतलाई भेदभाव तथा अन्य अपमानजनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

एक वर्षभन्दा कम कैद सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपियाँका दरले बुझाएर जान मिल्ने भएका कारण रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको ६ हजार रुपैयाँ बुझाएर गएको अछाम प्रहरीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

रावतकी भाइबुहारी २१ वर्षीया पार्वती बुढा रावतको मंसिर १५ गते राति छाउगोठमै मृत्युपछि प्रहरी प्रतिवेदका आधारमा घरमूली रहेका छत्र रावतलाई सोही महिनाको १९ गते पक्राउ गरिएको थियो ।

रावतको मृत्युपछि गृह मन्त्रालयको निर्देशनमा अछाममा छाउगोठ भत्काउने अभियान तीव्र भइरहेको छ । अछाममा सन् २००७ यता १४ जना महिला तथा किशोरीको मृत्यु छाउगोठमै बसेका कारण भइसकेको खबर गोरखापत्र दैनिकमा छ ।

मुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई तीन हजार रुपैयाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । छाउगोठमा बस्ने र बस्न प्रेरित वा दबाब दिनेलाई स्थानीय तहबाट दिइने सेवाबाट वञ्चित गरेर कानुनी कारबाही थालिने स्थानीय जनप्रतिनिधिले यसअघि नै प्रतिबद्धता गरिसकेका छन् ।

प्रकाशित मिति : January 23, 2020 at 7:16 am