२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

फुटबलरमाथिको प्रतिबन्ध २७ दिन घट्यो

९ पुस, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार फुटबलरमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले फुटबलरहरुको कारबाहीको समय २७ दिन घटाएको छ ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ठमेलमा रहेको ‘नाइट क्लब’ मा गएका फुटबलर विमल घर्ती मगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि अनुशासन समितिले खेल्न प्रतिबन्ध लगाउँदै कारबाही गरेको थियो ।

समितिले विमल र दिनेशलाई ९० दिन तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० देखि गणना हुने एन्फाको निर्णय छ ।

चारैजना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए । एन्फाले चारै खेलाडीमाथि ५० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो ।

प्रतिबन्धपछि उनीहरुले नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) पनि गुमाउनु परेको थियो । अञ्जन र सन्तोषको निलम्बन पुस १५ देखि तथा विमल र दिनेशको निलम्बन माघ ३० देखि फुकुवा हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ०८:१०