२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

उपत्यकामा भोलि जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने

२३ मंसिर, काठमाडौं भोलि (मंगलबार) १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) समापन हुँदै छ । मंसिर १५ देखि सुरु भएको सागलाई नेपालमा उत्सवकै रुपमा सम्पन गरिँदै छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (मंगलबार) ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरेको छ । यसको मतलब भोलि जोर नम्बर भएका सवारीसाधन मात्र उपत्यकाका रिङरोड क्षेत्रभित्र गुड्न पाउने छन् । साग उद्घाटनका दिन बिजोर नम्बरका सवारीसाधनलाई मात्र चल्न दिइएको थियो । यद्यपि महाशाखाका अनुसार अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स, दमकल तथा प्रेसका सवारीसाधनलाई भने निर्वाध चल्न दिइनेछ ।

साथै ट्राफिक प्रहरीले ठूला मालवाहक सवारीसाधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि आग्रह गरेको छ । दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यसआसपासको सडक प्रयोग नगर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउनेको सवारीसाधन टुँडिखेलमा पार्किङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार ०७:४१