२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बोलोन डी’ओर जितेपछिको पहिलो खेलमा मेसीको ह्याट्रिक

२२ मंसिर, स्पेन छैटौंपटक बोलोन डी’ओर अवार्ड जितेलगत्तैको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् । स्पेनिस ला-लिगाअन्तर्गत आइतबार बिहान रियल माल्लोर्काविरुद्ध भएको खेलमा उनले ह्याट्रिक गरेका हुन् ।

यो खेलमा बार्सिलोना ५-२ ले विजयी भयो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २-१ बनाए । ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुन: बढाएलगत्तै ४३औं मिनेटमा सुवारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४-१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्को गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरे । मेसीले ८३औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो ।

खेलअघि मेसीले क्याम्प नाउम छैटौंपटक पाएको बोलोन डी’ओर अवार्डको प्रदर्शन गरेका थिए । गत सोमबार मात्रै मेसीले बोलोन डी’ओर अवार्ड पाएका थिए । जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा छ । –एजेन्सी

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०७:४२