९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

साग फुटबलको ऐतिहासिक यात्रामा भुटान, फाइनल पुग्ने पहिलो टिम

२२ मंसिर, काठमाडौं नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन । ११० स्वर्ण जित्दै भारत अंक तालिकाको शीर्ष स्थान र ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहँदा भुटान पुछारमा छ । भुटानले पदकको नाममा ६ कास्य मात्रै जितेको छ ।

तर, पुरुष फुटबलमा भने भुटानले सनसनीपूर्ण पुनरागमन गर्दै कम्तीमा रजत निश्चित गरेको छ । नेपालसँग ४-० को फराकिलो अन्तरले पराजित भुटान ३ खेल जित्दै फाइनलमा पुगेको छ ।

सागको ३५ वर्षे यात्रामा भुटान फाइनल पुगेको यो पहिलोपटक हो । भारतले सहभागिता नजनाएपछि राउन्ड रोबिनका आधारमा खेलाइएको फुटबलमा भुटानले श्रीलंका, बंगलादेश र माल्दिभ्सलाई पराजित गरेको छ ।

९ अंक जोड्ने क्रममा श्रीलंकालाई ३-०, बंगलादेशलाई १-० र माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । शनिबार श्रीलंकालाई पराजित गरेपछि भुटानी टिममा खुसी छाएको छ ।

लिग चरणको अन्तिम खेलमा नेपाल-बंगलादेशबीच स्पर्धा हुनेछ । आज (आइतबार) साँझ ५ बजेदेखि हुने यो स्पर्धाको विजेता टोलीसँग भुटानले फाइनलमा स्वर्णका लागि भिड्नेछ । यो खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोके पनि फाइनलमा पुग्नेछन् । नेपालको ७ अंक छ । बंगलादेशले ४ अंक जोडेको छ । नेपालले उक्त खेलमा हार बेहोरे सामान अंक हुँदा-हुँदै हेड टु हेडका आधारमा नेपाललाई उछिन्दै बंगलादेशले भुटानसँगको भेट सुनिश्चित गर्नेछ । भुटानले पदक तालिकामा अहिलेसम्म ६ कास्य मात्रै जितेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०७:१६