२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

देशको शिर उँचो बनाउँदै महिला भलिबल खेलाडी

१६ मंसिर, काठमाडौं । नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश गरेको छ । यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । २२ वर्षको अन्तरालमा सिंगो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त गर्‍यो ।

भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् । दशरथ रङ्गशालाको स्टेडियममा शनिबार भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलंकाको महिला टोली पनि साथै उत्रियो । आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो । जब खेल सुरु भयो, तब नेपाल श्रीलंकामाथि हाबी हुँदै गयो । रातको ७ बजे सुरु भएको खेलमा नेपालले सहज जित हात पार्‍यो ।

झन्डै २ घण्टा चलेको खेलमा नेपालले पहिलो सेटमा २५-१४, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २५-२१ को अन्तर कायम गर्दै जित हासिल गरेको हो । यही अंकभारका आधारमा श्रीलंकालाई ३-० को सोझो सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्न सफल भयो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०७:२५