१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

पूर्वमिस नेपालहरूको महिनावारी अनुभव (कसले के भने ?)

१६ मंसिर, काठमाडौं । महिनावारी लुकाउने कुरा हो कि खुलेर बहस गर्ने कुरा हो । यसबारे सहरका किशोरी समुदाय अझै अन्योलमा छन् ।

सुदूरपश्चिमको अछाम र डोटीलगायत क्षेत्रमा महिनावारी अझै कडा छुवाछूतको विषय मानिन्छ । राजधानीमा शनिबार भने पूर्वमिस नेपालहरू महिनावारीबारे एकै मञ्चमा खुलेर बोले । प्राकृतिक प्रक्रिया भएकाले महिनावारीबारे खुलेर बोल्न र एकअर्कालाई सहयोग गर्न आह्वान गरिएको खबर गोरखापत्र दैनिकमा छ ।

भृकुटीमण्डपमा भेला भएका आगन्तुक र किशोरीमाझ उनीहरूले आफ्ना महिनावारी अनुभव साटासाट गरे । धेरैजना राता पहिरनमा सजिएर महिनावारीलाई छुवाछूतका रूपमा होइन खुसीका रूपमा मनाउनुपर्ने सन्देश दिए ।

“पहिलोपटक महिनावारी हुँदा म एकदमै खुसी भएकी थिएँ”, पूर्वमिस नेपाल मलिना जोशीले भनिन्, “अलिक ढिला भएकाले पनि कस्तो होला के होला भन्ने जिज्ञासाले मलाई अनौठो पनि लागेको थियो ।”

उनले जस्तै पूर्वमिस नेपाल उषा खड्गी हरेक महिना हुने महिनावारीका कारण किशोरी र महिलामाथि भेदभाव गर्न नहुने बताइन् । ‘‘जसरी हरेक मानिसले दैनिक क्रियाकलाप गर्छन्, त्यसरी नै हरेक महिना एउटी किशोरीलाई महिनावारी हुन्छ”, पूर्वमिस नेपाल जेनिसा मोक्तानले अनुभव बताइन्, “एउटा शारीरिक प्रक्रियाका रूपमा सबैले सामान्य व्यवहार गर्नुपर्छ ।” उनले जनजाति समुदायमा महिनावारीको विभेद तागाधारीमा भन्दा निकै कम रहेको अनुभव सुनाइन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले महिनावारी महिलाका लागि सृष्टिको अनुपम उपहार भएको बताउँछिन् । किशोरी समूहका लागि काम गर्दै आएको मितिनी नामक संस्थासँगको सहकार्यमा आफूहरूले छात्राहरूका लागि भविष्यमा सहकार्य गरी थप सुधारका काम गर्ने योजनाअनुसार यसरी भेला भएको पूर्वमिस नेपाल सुगारिका केसीले जानकारी दिइन् ।

प्रकाशित मिति : December 2, 2019 at 6:46 am