मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन
१० मंसिर, काठमाडौं । विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । सोमबार अन्तिमपटक दिइएको चौबीस घण्टे अल्मिेटममा समेत पैसा फिर्ता गर्ने सुरसार नदेखाएपछि सरकारले मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको हो ।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठक बसेको थियो । बैठकले विद्यार्थीबाट लिइएको बढी शुल्क मंगलबारसम्म फिर्ता नगरे कारबाही गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले बढी शुल्क लिएका कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने निर्णय गरेको थियो । सोही आधारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी लिएर पक्राउ गर्न निर्देशन दिएको हो ।
प्रहरीले आज (मंगलबार) बाट कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रहरीले विद्यार्थी र अभिभावकको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गर्ने तयारी गरेको हो ।
यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री, शिक्षामन्त्री, विश्वविद्यालयका पदाधिकारीसहित बसेको बैठकले सुरुमा १ महिना र त्यसपछि थप १५ दिनको समय दिँदै तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न निर्देशन दिएको थियो ।
तर, उक्त अवधिमा विद्यार्थीको पैसा फिर्ता गर्ने सुरसार नदेखाएपछि सरकार सोमबार २४ घण्टे अल्टिमेटम दिएको हो ।
अवैध रुपमा जवरजस्ति असुलेको पैसा फिर्ता दिन माग गर्दै विद्यार्थीहरु ३ महिनादेखि आन्दोलित छन् ।
प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०८:३६