२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

१३ औँ साग : ८ खेलमा ६६२ खेलाडी सहभागी

७ मंसिर, काठमाडौं । आगामी १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सञ्चालन हुने ८ खेलमा ६ सय ६२ खेलाडी सहभागी हुने भएका छन् । मंसिर १५ देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ ।

जम्मा २६ खेलमध्ये पोखरामा हुने ८ खेलका लागि सार्क राष्ट्रबाट महिला ४०१ र पुरुष २६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए । प्रतियोगितामा १७२ अफिसियल सहभागी हुँदै छन् । आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहने छ । जसमा ५२ पुरुष र १०२ महिला तथा ३० अफिसियल सहभागी हुँदै छन् । माल्दिभ्सले आर्चरी, भारोत्तोलन र ट्रायथलनमा सहभागिता जनाएको छैन । ५ खेलमा महिला ६१ र पुरुष २६ खेलाडी तथा २९ अफिसियलको सहभागिता हुनेछ । भारतले आर्चरी र क्रिकेटबाहेकका प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

भारतबाट ४१ पुरुष र ६१ महिला सहभागी हुँदै छन् । बंगलादेशबाट ६ खेलका लागि पुरुष ४४, महिला ५५ र ३० अफिसियल छन् । बंगलादेशले महिला फुटबल र ट्रायथलनमा सहभागिता जनाएको छैन । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथलनबाहेक प्रतियोगितामा पुरुष ३८, महिला ३५ र अफिसियल २१ सहभागी गराउँदै छ । श्रीलंकाले आठवटै प्रतियोगितामा पुरुष ४६, महिला ८१ र अफिसियल ३३ जनाको सहभागिता जनाउनेछ ।

भुटानले ह्यान्डबल, महिला फुटबल, बिच भलिबल र ट्रायथलनमा सहभागिता जनाएको छैन । भुटानबाट ४ खेलका लागि पुरुष १४, महिला ६ र अफिसियल ४ गरी २४ मात्र सहभागी हुँदै छन् । पोखरामा हुने ८ खेलमध्ये ब्याडमिन्टन १५ गतेबाट ब्याडमिन्टन कभर्डहलमा हुनेछ । महिला क्रिकेट १६ गते पोखरा रंगशालाभित्रको क्रिकेट मैदान तथा आर्चरी १६ गतेबाट सुरु हुनेछ । ट्रायथलन १६ गतेबाट सुरु हुनेछ ।

महिला-पुरुष ह्यान्डबल १८ गते तथा बिच भलिबल, भारोत्तोलन र महिला फुटबल ९ गते बाट सुरु हुनेछ । बिच भलिबल बाराहीघाटस्थित कोर्टमा हुनेछ । भारोत्तोलन माटेपानीस्थित केसी क्याटरिङको हलमा हुनेछ । फुटबलका लागि गौरी-शंकर खेल मैदान पोखरा २५, गोस्तेघाट लामाचौर र सेनाको पश्चिम पृतना विजयपुरमा अभ्यासस्थल तोकिएको छ । क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्रलाई तय गरिएको छ । –रासस

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार १०:१८