१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

पश्चिमोत्तर सीमा सुरक्षाशून्य

२४ कात्तिक, दार्चुला । नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य छ ।

व्यास गाउँपालिका १ छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोलानजिकको सीतापुल प्रहरीचौकी नै नेपालको पश्चिमी सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो । जीर्ण अवस्थाको यो चौकीमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा १३ जनाको टोली छ । सीमा क्षेत्रको एकमात्र चौकी भएकाले स्थानीय नागरिकलाई सुरक्षा दिने दायित्व पनि यही टोलीमाथि छ ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ नक्साअनुसार नेपाल–भारत सीमा वारिपारि कौवा र गुञ्जी क्षेत्र पर्छ । नेपालतर्फको ठाउँ कौवा हो भने भारततर्फको गुञ्जी । कौवाबाट कालापानी ९ किलोमिटर उत्तरमा पर्छ । यी दुई विन्दुबीच मात्रै भारतका आधा दर्जन सुरक्षा अंग छन् ।

नेपालतर्फ भने कौवाबाट १० किलोमिटर वर गागामा त्यही एउटा सीतापुल चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने उक्त ठाउँहरूमा सुरक्षा निकायहरूको उपस्थिति बढाउँदै लगेको छ । भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् ।

भारतले अहिले कालापानी हुँदै लिपुलेकसम्म मोटरबाटो बनाइरहेको कान्तिपुर दैनिकले खबर छापेको छ । कालापानीबाट लिपुलेक करिब १० किलोमिटर र त्यहाँबाट चीनको सीमा लिपुपास ३ किलोमिटरमा पर्छ । गुञ्जीबाट चीनको सीमा पुग्न सबैभन्दा नजिक र सजिलो भएकाले भारतले यो क्षेत्रलाई २०१८ सालदेखि हडप्दै आएको स्थानीय बताउँछन् । कालापानी क्षेत्रमा आफ्ना सैनिक राखेदेखि नै भारतीय पक्षले नेपालीलाई आवतजावतमा समेत अवरोध गर्दै आएको छ । यो नाकाबाट भारत–चीन व्यापार सुरु भएदेखि नेपालीलाई असहज भएको हो ।

पञ्चायतकालमा सदरमुकाम खलंगाबाट तिंकर नाकासम्म झन्डै सवा सय किलोमिटर घोरेटो बाटो बनेको थियो । यो बाटो बनेपछि व्यास क्षेत्र जान सहज भएकाले नेपाली र भारतीय नागरिक नेपालकै घोरेटो बाटोबाट व्यास क्षेत्रमा बर्सेनि कुञ्चा (बसाइँसराइ) गर्थे । सीतापुलको करिब ४/५ किलोमिटर पर कौवाको किनारमा नेपाल–भारत जोड्ने काठेपुल रहेको र त्यहींबाट उक्त क्षेत्रका भारतीयले कुञ्चा सार्ने गरेको तिंकरका वृद्ध शोभानसिंह तिंकरी बताउँछन् । पछि उक्त काठेपुल कटानमा पर्‍यो । त्यसपछि अहिलेको सीतापुलको करिब सय मिटरयता तिंकर खोला महाकालीमा मिसिने ठाउँमा पुल बनाइएको थियो । त्यही पुल पनि नदीले कटान गरेको धेरैपछि सीतापुल बनाइएको हो ।

बहुदल आएयताको केही समयसम्म पनि नेपाल–भारत सीमा क्षेत्रमा निर्वाध आवतजावतमा रोकतोक थिएन । माओवादी द्वन्द्व चर्किएपछि भारतीय पक्षबाट आवागमनमा अवरोध गरिएको व्यासका बूढापाका बताउँछन् । सशस्त्र द्वन्द्वकालमा नेपाली सुरक्षाकर्मी व्यास क्षेत्रमा जान सकेनन् । द्वन्द्व सकिएपछि घोरेटो बाटो बिग्रिएको भन्दै राज्यले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउनमा चासो नदिएको स्थानीयको बुझाइ छ । व्यास क्षेत्रमा नेपाल प्रहरीका २ युनिट छन् । ती पनि अस्थायी । त्यहाँ ६ महिना मात्र प्रहरी बस्छन् । चिसोका बेला बेसी झर्छन् ।

प्रकाशित मिति : 08:02