१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

बाटुलेचौरदेखि विश्वमञ्चसम्म : झलकमान गन्धर्वको सांगीतिक यात्रा

-बैकुण्ठ महत

नेपाली लोकसंगीत परम्परामा गन्धर्व समुदायको योगदान ऐतिहासिक तथा विशिष्ट मानिन्छ । यस समुदायले पुस्तौंदेखि सारंगीको माध्यमबाट समाजका विविध पक्षहरूः जनजीवन, सामाजिक यथार्थ, वीरता, प्रेम तथा राष्ट्रियतालाई गीतका रूपमा अभिव्यक्त गर्दै आएको छ । यिनै परम्परालाई निरन्तरता दिने प्रमुख व्यक्तित्वमध्ये लोकगायक झलकमान गन्धर्व एक महत्वपूर्ण व्यक्ति हुन । आज उनको ९२ औँ जन्मजयन्ती हो । उनले नेपाली लोकसंगीतलाई गाउँघरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।

झलकमान गन्धर्वको जन्म वि.सं. १९९२ साल बैशाख १२ गते कास्की जिल्ला, पोखरा नजिकको बाटुलेचौरमा भएको थियो । उनी पिता दुर्गाबहादुर गन्धर्व र माता भागीरथी (मकैडाली) गन्धर्वका जेठा छोरा थिए । आर्थिक रूपमा कमजोर परिवारमा जन्मिएका झलकमानले बाल्यकालदेखि नै अभाव, संघर्ष र श्रमसँग नजिक भएर जीवनयापन गर्नुपरेको थियो ।

झलकमान नौ वर्षको हुँदा उनकी आमाको देहान्त भएको थियो । उनले सानै उमेरदेखि सारंगी बजाउने र गाउँगाउँ डुल्दै गीत गाउने अभ्यास सुरु गरेका थिए । यसले उनलाई केवल संगीतमा मात्र होइन, समाजको वास्तविकता बुझ्ने अवसर पनि प्रदान ग¥यो । बाल्यकालको यही अनुभवले उनको सृजनात्मकता र गीतका विषयवस्तुमा गहिरो प्रभाव पारेको हुनुपर्छ ।

झलकमान गन्धर्वले दुईवटा विवाह गरेका थिए । पहिलो विवाह मामाकी छोरी कलावती गन्धर्वसँग भएको थियो, जसबाट एक छोरा र एक छोरी जन्मिएका थिए । कलावतीको अल्पायुमै निधन भएपछि उनले काठमाडौंको कीर्तिपुर गाम्चाकी मंगलमाया श्रेष्ठसँग प्रेम विवाह गरे, जसबाट चार छोरा र एक छोरी गरी थप पाँच सन्तान जन्मिए ।

उनको पारिवारिक जीवन साधारण भए पनि सांगीतिक यात्रा निकै संघर्षपूर्ण थियो । सानैदेखि सारंगीलाई आफ्नो सारथी बनाउँदै गाउँगाउँमा पुगेर गीत गाउने परम्परालाई झलकमानले निरन्तरता दिए । उनी केवल गायक मात्र नभई समाजका कथाकार पनि थिए, जसले गीतमार्फत जनजीवनका कथा सुनाउँथे ।

वि.सं. २०२२ मा रेडियो नेपालद्घारा आयोजना गरिएको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिएर प्रथम स्थान हाँसिल गरेपछि झलकमान गन्धर्वको जीवनले अर्कै मोड लियो । बाटुलेचौरबाट रेडियो नेपालसम्म उनलाई ल्याउने व्यक्ति जनकविकेसरी धर्मराज थापा थिए भनिन्छ । कतिपयले तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङका साथमा कल्याण शेरचनको नेतृत्वमा काठमाडौं आएको र सो प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि झलकमान राष्ट्रियरुपमा चम्किएको पनि भन्ने गर्दछन् । उक्त प्रतियोगितामा विजयी घोषणाछि श्री ५ महेन्द्र सरकारबाट झलकमानलाई स्वर्णपदकसहित १ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो । उनले त्यस प्रतियोगितामा दोस्रो विश्वयुद्धमा वीरता प्रदर्शन गरी बेलायत सरकारबाट ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका गोर्खाको गुरुङ बस्तीका गजे घले र अन्य लाहुरेको सम्मानमा झलकमानका बुबा ‘दुर्गाबहादुर मिझार (गन्धर्व) ले लय र शब्द संकलन गरेको ‘हे बरै, आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत गाएका थिए । जुन गीत उनकै आवाजमा रेकर्ड भई चर्चित बनेको थियो ।

त्यसपछि झलकमान गन्धर्वले वि.सं. २०२४ साल कात्तिक १ गतेदेखि रेडियो नेपालमा सारङ्गी वादकको रुपमा सेवा गर्ने अवसर पाए । यसले उनको प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गरायो र लोकसंगीतलाई व्यापक श्रोतासम्म पुर्‍याउन मद्दत गर्‍यो ।

झलकमान गन्धर्वका गीतहरू नेपाली समाजका विविध पक्षहरूको जीवन्त दस्तावेजका रूपमा लिन सकिन्छ । उनका गीतहरूमा सामाजिक यथार्थ र जनजीवन, माया–प्रेम र मानवीय सम्बन्ध, वीरता र देशभक्ति, युद्ध र सैनिक जीवनका अनुभूति, दुःख, पीडा र संघर्षका कथाहरू पाइन्छन । उनले कति गीतहरु रेकर्ड गराए भन्ने सन्दर्भमा स्पष्ट तथ्याङ्क प्राप्त नभएपनि आमाले सोध्लिन, बाला जोवन, बस माया आजैको रात, तानसेन घमाइलो, तिमिले माया नगरे, अल्लारे नानी, डाँफे चरी, धरधरी बग्ने, गोर्खा गोरखनाथ, खाउँ त भने सुन्तला पानी गीतहरुको संगालो म्युजिक नेपालबाट सार्वजनिक गरिएको पाइन्छ । यस संगालोमा भएका अधिकांस गीतहरु स्रोताका प्रिय गीत बन्न पुगेका छन् । उनको राधा पियारी, आमाले सोध्लिन लगायतका गीतहरु रेडियो नेपालबाट पटकौंपटक बज्ने गीतहरुमा पर्दछन् ।

विशेष गरी “आमाले सोध्लिन् नि” जस्तो गीतले रणभूमिमा घाइते सैनिकको अन्तिम भावना र आमाप्रतिको संवेदनालाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेको छ । यसले केवल व्यक्तिगत भावनालाई मात्र होइन, सम्पूर्ण नेपाली समाजको सांस्कृतिक मनोविज्ञानलाई समेत उजागर गरेको छ ।

झलकमान गन्धर्वले नेपाली लोकसंगीतको संरक्षण, प्रवर्द्धन र विकासमा अतुलनीय योगदान दिएका छन् । उनले सारंगी जस्तो परम्परागत वाद्ययन्त्रलाई जनमानसमा लोकप्रिय बनाउने काम गरे । रेडियो नेपालमार्फत उनका गीतहरू प्रसारण भएपछि लोकसंगीतले नयाँ उचाइ प्राप्त गर्‍यो । उनले करिब २५० भन्दा बढी गीतहरू रेकर्ड गराएका थिए भनिन्छ, जसले नेपाली लोकसंगीतको समृद्ध भण्डार निर्माणमा योगदान पुर्‍याएको छ । उनका गीतहरू देशभित्र मात्र नभई विदेशमा समेत प्रस्तुत भएका थिए, जसले नेपाली संस्कृति अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्‍यो ।

झलकमान गन्धर्वलाई नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न सम्मान तथा पुरस्कारहरू प्रदान गरिएको थियो, जसमा नारायणगोपाल स्मृति सम्मान लगायतका प्रतिष्ठित पुरस्कारहरू पर्दछन् । आफ्नो सम्पूर्ण जीवन संगीत साधनामा समर्पित गर्दै नेपाली समाज र संस्कृतिको सेवा गर्दागर्दै वि.सं. २०६० साल मंसिर ६ गते काठमाडौंमा उनको निधन भयो ।

समग्रमा, झलकमान गन्धर्व नेपाली लोकसंगीतका एक अमर व्यक्तित्व हुन्, जसले आफ्नो जीवनलाई पूर्ण रूपमा संगीत र संस्कृतिको संरक्षणमा समर्पित गरे । उनका गीतहरू नेपाली समाजका ऐतिहासिक, सांस्कृतिक र भावनात्मक अभिलेखका रूपमा रहेका छन् । उनले परम्परागत लोकसंगीतलाई आधुनिक माध्यममार्फत प्रसार गरी यसलाई दीर्घकालीन रूपमा जीवित राख्न महत्वपूर्ण भूमिका खेलेका छन् । उनको योगदान केवल एक कलाकारको रूपमा सीमित नभई नेपाली सांस्कृतिक इतिहासको महत्वपूर्ण अंशका रूपमा स्थापित भएको छ ।

झलकमान गन्धर्व केवल एक लोकगायक मात्र थिएनन् उनी नेपाली समाजका मौन इतिहासकार थिए । जसले सारंगीका तारहरूमा समय, समाज र संवेदनालाई बाँधेर पुस्तौंपुस्तासम्म पुर्‍याउँदै छन । उनका गीतहरू केवल मनोरञ्जनका साधन नभई जनजीवनका पीडा, आशा, संघर्ष र भावनाका सजीव दस्तावेज हुन् । आज प्रविधि र आधुनिकताको तीव्र गतिमा परम्परागत लोकसंस्कृति ओझेलमा पर्ने जोखिम बढिरहेका बेला झलकमानजस्ता स्रष्टाहरूको योगदान झन् मूल्यवान् बन्दै गएको छ । उनले देखाएको बाटो संगीतकोमात्र होइन सांस्कृतिक पहिचानको संरक्षण र सम्मानको मार्ग पनि हो । यसर्थ झलकमान गन्धर्वको स्मरण केवल श्रद्धाञ्जली मात्र होइन नेपाली लोकसंस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धताको पुनःस्मरण पनि हो । उनका स्वरहरू अझै जीवित छन् हाम्रा गाउँघरमा हाम्रा सम्झनामा र नेपालीपनको मनमुटुमा ।

(सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका महासचिव बैकुण्ठ महत त्रिभुवन विश्वविद्यालयबाट सराएँ संस्कृतिमा विद्यावारिधी गर्दै हुनुहुन्छ । उहाँसँग फेसबुक पनि अन्तरक्रिया गर्न सकिन्छ ।)

प्रकाशित मिति : 07:57